कैलालीको लम्किचुहा नगरपालिकाले २ वटा महाप्रस्थान यान (शव बाहान) सञ्चालन गर्ने थालेको छ । आफ्ना नागरिकको महाप्रस्थानको अवस्थामा भोग्नु परेका समस्या समाधान गर्न महाप्रस्थान यान सञ्चालन गर्न थालिएको नगरपालिकाले जनाएको छ ।
खरिद गरिएका महाप्रस्थान यानलाई अहिले परिमार्जन गर्ने काम भइरहेको छ । नगरपालिकाका अनुसार अबको हप्ता दिनमा निशुल्क सेवा सञ्चालन हुनेछ । “हामी सबैले महाप्रस्थान गर्नै पर्ने हो । यो त अनिवार्य छ । बाच्दा सम्म समस्यामै गुज्रिएको मानव जीवन महाप्रस्थानमा पनि समस्या नै भोग्नु पर्ने अवस्था छ । महाप्रस्थान मात्र होइन पोस्टमार्टम गर्न लैजाँदा पनि ट्याक्टर खोज्नु पर्ने, कतिपय जान नमान्ने समस्या पनि बढी छ । यसको सहजताका लागि नगरपालिकाले शव बाहान सञ्चालन गर्न थालेको हो ।” नगर प्रमुख सुशीला शाहीले भनिन् ।
महाप्रस्थान यान सञ्चालन हुने भएपछि नगरवासीले महाप्रस्थानमा सहज हुने बताएका छन् । “हाम्रो तिर सडक दुर्घटना बढी हुन्छ । कतिको त घटना स्थलमै ज्यान जान्छ । पोस्टमार्टम गर्न लैजाऔ भन्दा साधन मिल्दैन । यो ठाउँका लागि शव बाहान अत्यन्तै आवश्यक थियो ।” स्थानीय गणेश कठरियाले भने ।
प्रकाशित :- २०८० माघ २४, गते बुधबार