सुखड : हाल सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)ले वैशाखमा हुने उपनिर्वाचनमा गठवन्धन नगर्ने जनाएको छ। उपनिर्वाचन उसले आफ्नै पार्टीबाट उम्मेदवार उठाउने भएको छ ।
आज प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि सभामातर्फ इलाम र प्रदेश सभातर्फ बझाङ-१, मा हुन लागेको उपनिर्वाचनमा गठवन्धन नगर्ने जनाएको छ ।
त्यसका लागि माओवादीले गठबन्धन नगरी आफ्नै पार्टीबाट उम्मेदवार उठाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले सञ्चारकर्मीलाई जानकारी दिएका हुन् ।
सापकोटाले उम्मेदवारको नामको विषयमा भने छलफल बाँकी नै रहेको र अर्को बैठकबाट टुङ्गो लाग्ने बताएका हुन् ।
उता एकीकृत समाजवादीले पनि बझाङको प्रदेश सभा सदस्यको उम्मेदवारको टुङ्गो लगाएको छ ।
समाजवादीले बझाङ १ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य मोहन गौतमले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । सिंह एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष पनि हुन् ।