कैलालीको गोदावरी नगरपालिकामा १ सय २० क्यु फिट अवैध काठ सहित १ जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा सब-डिभिजन वन कार्यालय गोदावरीले बुधवार छापा हानि पालिकाको वडा नम्बर १० शिविर टोलबाट काठ बरामद गरेको हो ।
चिराइ गरिएको २ सय ५० थान पटरा अर्थात् १सय २० क्यु फिट काठ सहित काठ चिरानमा संलग्न स्थानिय शेरबहादुर चौधरीलाई पक्राउ गरिएको सब-डिभिजन गोदावरी प्रमुख निरञ्जन कडालले जानकारी दिए । उनका अनुसार चौधरीको साथबाट ३ थान चिराइ आरा, ३ थान बन्चरो, १ थान घन र काठ बोक्न प्रयोग हुने २ थान डोरी समेत बरामद गरिएको छ । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको छ । उनलाई वन ऐन अनुसार कारबाही गरिने जनाइएको छ ।
“हामीलाई त्यहाँ काठ तस्करी हुन्छ भन्ने सूचना प्राप्त भयो । त्यसपछि हामीले नियमित राती गस्ती बढायौँ र निरन्तरको प्रयासपछि आज उक्त परिमाणमा काठ बरामद गर्न सफल भयौ ।” सब-डिभिजन प्रमुख कडालले भने ..
प्रकाशित :- २०८० पुष २५, गते बुधबार