
कैलालीको घोडाघोडी नगरपालिकाले मुक्त कमैयाका घर निर्माणको अभियान थालेको छ । विभिन्न सङ्घ संस्था सँग लागत साझेदारी गर्दै नगरपालिकाले अभियान अघि सारेको हो । गत वर्ष वडा नम्बर ३ मा मुक्त कमैयाका १२ घर निर्माण गरेको नगर सरकारले यो वर्ष वडा नम्बर ४ र ९ गरि थप १२ घर निर्माण गर्ने भएको छ ।
यसका लागि नगरपालिका र लागत साझेदार संस्था ह्याबिट्याट फर ह्युम्यानिटी बिच मङ्गलवार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । घर निर्माणका लागि नगरपालिकाले प्रति घर ३ लाख ५० हजार र ह्याबिट्याट फर ह्युम्यानिटीले राष्ट्रिय दलित नेटवर्क मार्फत प्रति घर २ लाख रुपैयाँ लगानी गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
नगरपालिकाको कुल ४३ लाख र ह्याबिट्याट फर ह्युम्यानिटीले कुल २४ लाख गरि ६७ लाखमा वडा नम्बर ४ मा ६ वटा र वडा नम्बर ९ मा ६ वटा घर निर्माण हुने छन् । भान्सा र ट्वाइलेट/बाथरुम सहितको २ कोठे मिनी घर निर्माण गरिने छ । यो कामलाई निरन्तरता दिँदै जाने नगर सरकारको लक्ष्य रहेको छ ।


प्रकाशित :- २०८० पुष १८, गते बुधबार