
एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन एमालेबाटै अस्वीकार भएको छ।

अहिलेसम्म जारी छलफल अनुसार दीर्घ सोडारीको विकल्प खोज्न एमालेकै केहि नेताहरुले आवाज उठाइरहेका छन्। अहिले धनगढीमा यही विषयमा छलफल पनि जारी छ। सत्ता गठबन्धनको निर्णय सबैले मान्नुपर्ने हुन्छ तर दीर्घबहादुर सोडारीको विकल्प खोज्नुपर्ने आवाज उठेको एमालेका एक नेताले बताए।
सत्ता गठबन्धनको विकल्पका रुपमा तयार भएको काँग्रेस, उन्मुक्ति, समाजवादी गठबन्धन भत्किएपनि एमालेले मुख्यमन्त्रीमा सोडारीको विकल्प खोज्न अडान लिएको हो। मुख्यमन्त्रीको दाबी पेस आजै गर्ने गठबन्धनको तयारी थियो। तर सोडारीको विकल्प खोज्नुपर्ने नेताहरुकै अडानका कारण बाँकी प्रक्रिया अघि बढ्न सकेको छैन्।
उसो त सोडारीको विरुद्ध सम्पत्ती सुद्धीकरणमा मुद्दा विचाराधीन छ। उनी यसअघि मन्त्री भएका बेला पनि विवादमा आएका थिए। त्यस कारण पनि सोडारीको विकल्प खोज्नुपर्ने आवाज नेताहरुले उठाएका छन्। साडारीबाहेक जुनसुकै भए पनि स्वीकार हुने नेताहरुको तर्क छ।
माओवादी, एमाले संसदीय दलका नेताहरुबिच अहिले छलफल भइरहेको छ। सत्ता गठबन्धनको निर्णय सबैले मान्नुपर्ने तर सोडारीलाइ सहयोग नगर्ने भन्ने विषयमा आफुलाइ जानकारी नभएको एमालेबाट प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले बताए। सोडारीलाई मुख्यमन्त्रीमा सहमति गर्ने नगर्ने विषयमा पछिल्लो घटनाक्रम जानकारी नभएको एमालेबाटै प्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा (थापा) ले बताइन्।
