
पर्यटन प्रवर्द्धनका लागि कैलालीमा चिसापानी धुलिकोट पदयात्रा प्रतियोगिताको आयोजना गरिएको छ । नवलसिंह रावल फाउण्डेसनको आयोजनामा प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगिताको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नु भएको थियो ।


बिहानी पखको सूर्योदय हेर्नका लागि निकै मनमोहक मानिने कैलालीको महोन्याल गाउँपालिका स्थित राजकाँडाले पछिल्लो समय पर्यटकलाई तानिरहेको छ । मालिका मन्दिर,धुलिकोट दरबार त्यस क्षेत्रको ऐतिहासिक धरोहर हुन । राजकाँडाबाट हेर्दा कर्णाली नदीका फाट पनि निकै सुन्दर र मनमोहक देखिन्छ । ती पर्यटकीय क्षेत्रको संरक्षण सम्बर्द्धन र प्रवर्द्धनका लागि बिहीबार चिसापानी धुलिकोट पदयात्रा प्रतियोगिताको आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलले बताउनु भयो ।
पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने लम्किचुहा ३ स्थित चिसापानी बाट पदयात्रा सुरु भई मोहन्याल गाउँपालिकाको धुलिकोटमा पुगी सम्पन्न गरिएको थियो ।

कार्यक्रममा बोल्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले पर्यटन प्रवर्द्धनका लागि गरिएको पदयात्रा ऐतिहासिक रहेको बताउनु भयो । पदयात्रा प्रतियोगिताले सरकारी क्षेत्र, निजी क्षेत्र र स्थानीयहरू मिलेर पर्यटन विकासमा अगाडि बढेको सन्देश दिएको पाण्डेले बताउनु भयो ।

पाण्डेले भन्नु भयो, पर्यटन प्रवर्द्धनका लागि निजी लगानी आवश्यक छ । निजी क्षेत्रले पर्यटनका पूर्वाधारहरू बनाउँछ धेरै मानिसले रोजगारी पाउँछन् अर्थतन्त्रको चलायमान हुन्छ । यो बाटोमा सुदूरपश्चिम अघि बढेको छ ।

केही दिन अघि सो क्षेत्रमा केबलकारको पनि उद्घाटन भएको बताउँदै मन्त्री पाण्डेले भन्नु भयो,धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको महोन्याल गाउँपालिकाको राजकाँडा स्थित मालिका मन्दिरलाई पनि बडिमालिका मन्दिर सँग जोड्न सकिन्छ ।

प्रतियोगितामा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, सुदूरपश्चिमको कैलाली, डोटी, अछाम, बाजुरा, दार्चुला लगायतका जिल्लाका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई समापन गर्दै फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावलले पर्यटन प्रवर्द्धनका लागि गरिएको पदयात्रा प्रतियोगिता पहिलो पटक भएको बताउनु भयो । उहाँले भन्नुभयो,हामी सफल भएका छौ आगामी दिनमा पनि विभिन्न कार्यहरू गर्नेछौ ।
चिसापानी देखि धुलिकोट सम्मको ७ किलोमिटर पदयात्रा प्रतियोगितामा पुरुष तर्फ प्रथम महोन्याल गाउँपालिका ५ का वडा सदस्य दिनेश बहादुर सार्की, दुतिय ढकारी गाउँपालिका ६ का सदस्य नवराज नेपाली, तृतीय रामारोशन गाउँपालिकाका वडा ५ का सदस्य दल बहादुर रोकाया हुनु भएको छ ।
महिला तर्फ प्रथम मोहन्याल गाउँपालिका ३ का वडा सदस्य नानी दमाई, दुतिय लम्की चुहा ८ का वडा सदस्य दुर्गा देवी जोशी, तृतीय लम्किचुहा नगरपालिका प्रमुख सुशीला शाही हुनु भएको छ । प्रथम,दुतिय र तृतीयलाई क्रमशः नगद एक लाख,पचास हजार र पच्चिस हजार पुरस्कार प्रदान गरिएको छ ।