कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको १८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष हरि सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पूर्व राज्यमन्त्री तथा संस्थाका संस्थापक अध्यक्ष अमर साउँद रहेका थिए। विशिष्ट अतिथिमा घोडाघोडी नगरपालिकाका सहकारी शाखाका प्रमुख हेमकान्त सुवेदी र घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेम बम लगायतको उपस्थिति थियो।
सभामा आर्थिक वर्ष २०८१/०८२ को विवरण प्रस्तुत गर्दै संस्थाको कुल सम्पत्ति ४ करोड ८८ लाख ६५ हजार ४ सय ३७ रुपैयाँ पुगेको जानकारी दिइएको थियो। यस्तै, कुल आम्दानी ७९ लाख ९ हजार २५ रुपैयाँ र कुल खर्च ७६ लाख ८२ हजार ५ सय ४९ रुपैयाँ रहेको बताइएको छ।
कार्यक्रममा विभिन्न वक्ताहरूले सहकारीको प्रगति र भूमिकाबारे शुभकामना मन्तव्य व्यक्त गरे। साथै, कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। सभामा सेयरधनी, स्थानीयवासी तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उपाध्यक्ष मैना ढकालको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव नारायण आचार्यले गरेका थिए।


