कैलालीको घोडाघोडी नगरपालिकामा नगरस्तरीय प्रथम बडीमालिका क्रिकेट कप २०८२ हुने भएको छ। बडीमालिका युथ क्लबको आयोजनामा प्रथम नगरस्तरीय बडीमालिका क्रिकेट कप–२०८२ सञ्चालन हुने भएको हो । प्रतियोगिता बारे बुधबार पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी गराइएको छ।
घोडाघोडी नगरपालिका वडा नम्बर–१, सुखडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, सञ्चालन विधि, सहभागी टिम तथा पुरस्कार व्यवस्थाबारे विस्तृत जानकारी गराइएको छ। आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य नगरभित्र लुकेर रहेका प्रतिभावान क्रिकेट खेलाडीहरूको पहिचान र प्रोत्साहन गर्नुका साथै युवाहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्नु रहेको छ।
क्लबले खेलकुदले अनुशासन, स्वास्थ्य र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने भएकाले यस्ता प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाएको छ। प्रतियोगितामा घोडाघोडी नगरपालिकाभित्रका विभिन्न वडाबाट अधिकतम आठ टिम सहभागी हुने आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष नरेश जंग शाहीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई नगद १० हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ। साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि बेस्ट ब्याट्सम्यान, बेस्ट बलर लगायत विभिन्न विधामा पनि पुरस्कार को व्यवस्था गरिएको छ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्सबाट ट्यालेन्ट हन्टमार्फत एनपीएलमा चयन भएका ओम प्रकाश घिमिरेलाई मुख्य अम्पायरको जिम्मेवारी दिइएको आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता पौष ३० गतेदेखि माघ ४ गतेसम्म सञ्चालन हुनेछ। सबै खेलहरू घोडाघोडी नगरपालिका–१, सुखडस्थित ज्वालानगर खेलमैदान मा आयोजना गरिने छन्।




