
खेम ढुङ्गाना, सुखड

श्रीमान् को सहारा बन्दै आएकी तारा चौधरी अहिले आफै थला परेकी छन्। अपाङ्ग श्रीमानको सहारा बनेकी तारा सिकलसेल एनिमियाको सिकार बनेकी छन्। आर्थिक अवस्था निकै नाजुक रहेका छविलाल चौधरी दुवै खुट्टाका अपाङ्ग छन्।तिनै छविलालको सहारा रहेकी तारा आफै सिकलसेलबाट ग्रसित भएपछि उपचारमा समेत समस्या परेको छ। कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड हिम्मतपुर मुक्त कमैया शिविरमा बसोबास गर्दै आएकी ताराले उपचारका लागी सहयोग गरिदिन अपिल गरेकी छन् । घरको आर्थिक अवस्था एकदमै नाजुक भएका कारण उपचार गर्न समस्या भएपछि पीडित ३३ वर्षिया तारा कुमारी चौधरी र उनका श्रीमान् छविलाल चौधरीले सहयोगको याचना गरेका हुन् ।

गरिबीका कारण उपचार गराउन सक्ने अवस्था नरहेको उनका श्रीमान् छविलाल चौधरीले दुखेसो गरेका छन् । श्रीमती बिरामी भए पछि घोडाघोडी अस्पतालमा चेकजाँच गर्दा उनमा सिकलसेल एनिमिया रोग देखा परेको छविलालले बताए । बुढीलाई सिकलसेल एनिमिया रोग देखा पर्यो मेरो समेत सहारा रहेकी बुढी थला परिन अब कसरी उपचार गर्ने छविलालले चिन्ता व्यक्त गरे । उनको उपचार काठमाडौँमा मात्रै सम्भव रहेको र उनलाई उपचार गर्न १५ लाख बढी खर्च लाग्ने बुझिएको छ ।

आर्थिक अवस्था निकै कमजोर भएकाले श्रीमतीको उपचारका लागि लाग्ने खर्च व्यहोर्न सक्ने अवस्था आफ्नो नरहेकाले जीवन रक्षाका लागि सहयोगको याचना गर्नुको विकल्प नभएको छविलालले बताए । छविलाल र ताराको ९ वर्षको एक छोरा छ । छविलाल आफैमा शारीरिक रूपमा अशक्त छन् । श्रीमती पनि अशक्त,अझ त्यही माथि सिकलसेल एनिमिया रोगले गर्दा उनको परिवारमा झनै पिडा थपिएको छ।

छविलाल बेतबासको सामाग्री बनाउँदै माटोको भाडा बेच्दै आफू र आफ्नो परिवार पाल्दै आएका छन् । यति बेला भने उनी श्रीमतीमा सिकलसेल एनिमिया रोग देखा परे पछि निकै चिन्तामा रहेको छन् । उपचारका लागी उनी पैसाको खोजीमा भौँतारिरहेका छन् । सहयोग गर्न इच्छुक व्यक्ति वा सङ्घसंस्थाले छविलाल चौधरीको मोबाइल नम्बर ९७४६२५८४४८, ९८११६४७५५० मा सम्पर्क गर्न वा उनको नाममा रहेको कृषि विकास बैङ्क लिमिटेड सुखड कैलाली शाखा खाता नम्बर ०८२२३०१५६३३९००११ मा रकम जम्मा गर्न सक्ने छन् ।


