कैलालीको घोडाघोडी नगरपालिमा यो वर्ष पनि घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव हुने भएको छ । घोडाघोडी संस्कृति संरक्षण समाजको आयोजनामा आगामी मङ्सिर २९ देखी पुस १ गते सम्म महोत्सव सञ्चालन हुने बताइएको छ ।
“भाषा,धर्म,कला,संस्कृति के करी सम्मान, घोराघोरी मन्दिर थारुन के दउ थान के चिन्हैन हमार अभियान” भन्ने मूल नाराका साथ घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव २०८० को तयारी तीव्र पारिएको घोडाघोडी संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीले शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
महोत्सव सञ्चालनमा घोडाघोडी नगर भल्मल्सा कार्य समिति र घोडाघोडी सन्त समागम समाजले समेत सहकार्य गरेको छ । आयोजकका अनुसार महोत्सवमा घोडाघोडी नगरपालिका भित्रका ८२ गाउँका स्थानीयहरूको उपस्थिति हुने छ ।
महोत्सवमा थारु संस्कृति भल्काउने झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सँगै थारु समुदायको भेसभुसा झल्काउने विभिन्न नाचहरू समेत प्रस्तुत हुने छन् । कार्यक्रममा थारु समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगर लगायतको प्रस्तुति हुने छ ।
थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्व काल देखी गदै आएको बताइन्छ । अन्नबाली घर भित्राइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनु पर्ने मान्यता सहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ ।
प्रकाशित :- २०८० मंसिर २३, गते शनिबार