कैलालीमा ६५ शय्याको अस्पताल निर्माणको काम अलपत्र परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१० मा ४ वर्ष अघि सुरु भएको अस्पताल निर्माणको काम जनप्रतिनिधिहरूको लापरबाहीका कारण अलपत्र सँगै जीर्ण बन्न थालेको छ ।
५० शय्या नाम दिइएको अस्पतालका लागी ९ करोड ५७ लाखमा २०७६ सालमा प्रकृति शनिदेव जेभी सँग सम्झौता गरिएको छ । यस्तै सोही ठाउँमा थप १५ शय्या अस्पताल निर्माणकालागी १४ करोड ८५ लाखमा २०७८ सालमा केएस शनिदेव जेभी सँग सम्झौता छ । राज्यको ठुलो लगानी रहेको दुवै अस्पताल हाल सम्म सम्पन्न भइसक्नु पर्नेमा उल्टै अलपत्र छन् । रकम अभावले काम गर्न नसकिएको निर्माण कम्पनीको भनाई छ । यता नेकपा एमालेले भने वर्तमान नगर प्रमुखले बेवास्ता गरेको आरोप लगाउँदै आएको छ । “अहिलेका नगर प्रमुखलाई यो अस्पताल बनाउनु नै छैन । यो अस्पताल बन्यो भने एमालेको भिजन पुरा हुन्छ भन्ने सोचेर नै बेवास्ता गर्दै आउनु भएको छ ।” एमाले प्रदेश कमिटी सदस्य नरबहादुर खड्काले भने ।
अहिले यो नगरमा नेपाली काँग्रेसकी सुशीला शाही मेयर छिन् । यस अघि नेकपा एमालेका महादेव बजगाईँ मेयर थिए । उनकै पालामा अस्पताल निर्माणको काम सुरु भएको थियो । अघिल्लो कार्यकालमा जनप्रतिनिधिले लापरबाही गरेकाले अहिले काम गर्न असहज भएको वर्तमान मेयर शाहीको भनाई छ । “पहिला अस्पतालको डिपिआर स्वीकृत नगरी कनै काम सुरु गरिएको रहेछ । अहिले मन्त्रालयले डिपिआर मापदण्ड अनुसार नभएकाले सच्याएर ल्याउनुस् भनेको छ । हामी त्यही प्रक्रियामा छौ । बाहिर एमालेले सुरु गरेको काममा काँग्रेसबाट जितेको मेयरले बजेट हालेन भनेर हल्ला गरिँदै छ । कुरा त्यसो होइन । हामी आए लगत्तै नगरकै पैसाले लेन्टर गरेका हौ । जनताका समस्या प्रति हामी चिन्तित छौ ।” नगर प्रमुख शाहीले भनिन् ।



प्रकाशित :- २०८० कार्तिक १४, गते मंगलवार

