कैलालीको भजनीका किसानहरूलाई बजारमा मल पाउनै मुस्किल परिरहेको छ । गहुँ छर्ने यस समयमा त्यहाँका किसानले भने बजारमा मल पाउनै छोडेका छन् । भजनी नगरपालिका-५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँ खेती गर्ने तयारी गरेको लामो समय भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरि सक्नुपर्ने बताउने उनको दैनिकी आजभोलि रासायनिक मलको खोजीमा बितिरहेको छ ।
भजनीलगायत आसपासका बजारमा मलको खोजीमा रहेका उनलाई मल नपाइएपछि गहुँ खेती गर्न नपाइने होकी भन्ने चिन्ताले सताउन थालेको छ । “खेतमा पहिलेदेखि नै रासायनिक मल प्रयोग गर्दै आएकाले मल नहालेर उब्जनी हुँदैन,” उनले भने, “दिनभर मलका लागि दौडधुप हुन्छ, साँझ रित्तो घर फर्कनु परेको छ ।”
स्थानीय बजारमा मलको सहज आपूर्ति नहुँदा हरिप्रसाद जस्तै भजनीका कैयौँ किसानले अझै खेती लगाउन सकेका छैनन् । गहुँ खेती गरेका किसानहरू पनि मल नपाएर तनावमा छन् । समयमा मल नपाएपछि मल नहालेरै गहुँ छरेका लक्ष्मण चौधरीको समस्या पनि उस्तै छ । उनले ९ बिघा क्षेत्रफलमा गहुँ छरेका छन् । “नेपाली बजारमा मल कतै पाइँदैन । पाइए पनि एक बोरा मल पाइन्छ, ९ बिघा खेतमा त्यो एक बोराले कसरी पुगाउनु?” उनी भन्छन्, “भारतीय बजारबाट व्यवहार हेरेर किसानलाई आफ्नो प्रयोगको लागि मल ल्याउन दिएको भए पनि सहज हुन्थ्यो ।”
भारतीय बजारमा मल उपलब्ध भए पनि सीमा प्रहरीले रोक लगाउने गरेको किसानहरुको गुनासो छ । व्यवसायिक प्रयोजनको लागि नभई व्यक्तिगत प्रयोजनको लागि भारतीय बजारबाट मल ल्याउन पाउनु पर्ने माग किसानले गर्दै आएका छन् ।
सरकारले किसानलाई खेतीको समयमा सहजरूपमा मल उपलब्ध गराउन नसकेको जुगराम डगौरा बताउँछन् । “कृषिमा राज्यले ठूलो लगानी गर्दै आएको बताउँछ,” उनी भन्छन्, किसानले पैसा तिरेरै पनि समयमा मल पाउने स्थिति छैन् ।”,
भजनी नगरपालिका कृषिका लागि उर्बर हो । त्यहाँका अधिकांश नागरिकहरू कृषि पेसामा आबद्ध छन् । बाढी र डुबानका कारण
वर्षायामको खेती अधिकांश किसानले गर्दैनन् । हिउँदे खेती त्यहाँका किसानको मुख्य आय स्रोत हो । स्थानीय बजारमा मल नभेटेपछि भारतबाट दुई बोरा मल ल्याएर आएका सुन्दर चौधरीले मल प्रहरीले नियन्त्रणमा लिएर भन्सार पुगेको गुनासो सुनाए ।
किसानले मल नपाएको गुनासो आएपछि भजनी नगरपालिकाले सरोकारवाला निकायसँग छलफल गरेको छ । नगरपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष विक्रम चौधरी सरकारले अनुदानमा छुट्याएको मलको कोटा अनुसार भजनीका एक तिहाइ किसानको माग पूरा नहुने बताउँछन् । चौधरी भन्छन्, “किसानको मागअनुसार मलको उपलब्धता हुने हो भने २५ देखि ३५ हजार क्विन्टल मल आवश्यक पर्छ ।”
किसानले एक दुई बोरा मल भारतीय बजारबाट खेतको लागि ल्याउँदा त्यसलाई अवरोध सुरक्षा निकायले गर्न नहुनेमा उनको जोड छ । नगरपालिकाका नगर प्रमुख केवल चौधरीले मलको समस्या वर्षेनी किसानले झेल्दै आएको बताउँदै समाधानका लागि नगरपालिकाले प्रयास गर्दा पनि सफल हुन नसकिएको बताए ।