
कैलालीमा वन कार्यालयले पक्राउ गरेका एक व्यक्तिलाई सुदूरपश्चिम प्रदेश सरकारका वन मन्त्री रमेश धामीले वन हिरासतबाटै भगाएका छन् । जिल्लाको भजनी नगरपालिका वडा नम्बर ९ मा रहेको सयपत्री सामुदायिक वनका उपाध्यक्ष समेत रहेका जितबहादुर बडैलाले करिब ३ रोपनी वनक्षेत्र अतिक्रमण गरेको भन्दै वन कार्यालयले मंगलबार पक्राउ गरेको थियो ।
उनलाई पक्राउ गरी सशस्त्र वन सुरक्षा शाखा (वन हिरासत) धनगढीमा बरबुझारथ गर्ने क्रममै मन्त्री धामी स्वयं उपस्थित भई सशस्त्र वन सुरक्षाकर्मीहरूलाई गाली गलौच गर्दै धम्की दिई उनलाई भगाएको बताइएको छ । मन्त्री धामीले जलाइदिने धम्की दिँदै वन कार्यालयको गाडी समेत नियन्त्रणमा लिएको श्रोतको दाबी छ ।
यस बारे मन्त्री धामी सँग बुझ्दा वन कर्मचारीले निर्दोष व्यक्तिलाई फसाउन खोजेको दाबी गरेका छन् । “निर्दोष मान्छेलाई मुद्दा लगाउन पाइँदैन । म आफै फिल्डमा गएको छु । त्यहाँ अतिक्रमण भएको छैन । बस्ती बसेको ठाउँमा वनले हात नहाल्ने भनेर नीति नै बनाएका छौ । मैले मोटरसाइकल ल्याउन पठाएको मान्छेलाई पक्राउ गर्ने तिनीहरूले ? कर्मचारी आफैले रुख काट्ने अनि अरूलाई आरोप लगाउन मिल्छ ? तपाई जे जे लेख्नुहुन्छ लेख्नुस् । मेरो कर्मचारीलाई कसरी परिचालन गर्ने त्यो मेरो काम हो ।” उनले भने ।
भएको के थियो ?
डिभिजन वन कार्यालय पहलमानपुरका अनुसार भजनी नगरपालिका ९ को सयपत्री सामुदायिक वनका उपाध्यक्ष समेत रहेका जितबहादुर बडैलाले करिब ४/५ वर्ष अघि देखी ३ रोपनी वन क्षेत्र अतिक्रमण गरी फलफूलका बोटहरू लगाएका थिए ।
सुरु देखी नै अतिक्रमणको विरुद्ध रहेका स्थानीय उपभोक्ताहरूले अतिक्रमण हटाउने प्रयास गरे तर सम्भव भएन । अतिक्रमण हटाउनका लागी उपभोक्ताहरूले वन कार्यालय गुहार्न थाले । वन कार्यालयले पनि बडैलालाई अतिक्रमण हटाउन परिपत्र गर्न गर्न थाल्यो । तर बडैलाले कसैलाई टेरेनन् । उल्टै उपभोक्तालाई धम्काउने र वन कर्मचारीलाई आक्रमण गर्न थाले । उपभोक्ताहरूले आफूहरूले पनि फलफूल खेती गर्ने र आफूहरूलाई पनि वन क्षेत्र भोगाधिकार दिनु पर्ने माग राख्दै डिभिजन वन कार्यालय पहलमानपुरमा धर्ना बस्न थाले ।
चौतर्फी दबाब परेपछि डिभिजन वन कार्यालय पहलमानपुरले वन क्षेत्र खाली गर्न भन्दै असोज १० गते उपभोक्ताहरूको सहकार्यमा बडैलाले लगाएका फलफूलका बोटहरू कटान ग¥यो । आफूलाई फसाउने नियतले सोही दिन राती बडैलाले केही सालका रुखहरू कटान गरेको वन कार्यालयको दाबी छ । यता बडैलाले भने आफूलाई फसाउन वन कर्मचारीले नै रातीको समयमा सालका रुखहरू काटेको अडान कसिरहेका छन् । सालका रुखहरू कटान गरेकाले वन ऐन अनुसार कारबाही गर्ने भन्दै बडैलालाई वन कार्यालयले खोजिरहेको थियो भने बडैला पनि सोही दिन देखी फरार थिए । मङ्गलवार मात्रै उनलाई वन कार्यालयले पक्राउ गरेको थियो ।


प्रकाशित :- २०८० आश्विन २४, गते बुधबार