कैलाली र कञ्चनपुरमा भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।
शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका इकाइबाट खटिएको टोलीले कैलालीका विभिन्न स्थानबाट अन्दाजी मूल्य रु. १ लाख ३८ हजार ४५० बराबरका फेन्सी कपडा, किराना लगायतका सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ वनदेवी जंगल नजिकबाट इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी मूल्य रु. ५७ हजार ५० बराबरका चप्पल तथा किराना सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
बरामद गरिएका दुवै स्थानका सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमार्फत थप कारबाहीका लागि अगाडि बढाइएको प्रहरीले जनाएको छ।




