कैलालीका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। स्विजरल्याण्डमा बस्दै आउनुभएका शुभ एल्मर लामा,सुनम पन्त, उषा ज्याक्युट, र इस्टर कम को आर्थिक सहयोगमा अत्रीदेव खबरका प्रधान सम्पादक प्रकाश मिश्रले उक्त सामग्री वितरण गर्नुभएको हो।
विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सहयोग उपलब्ध गराउने अभियान विगत ८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको मिश्रले जानकारी दिनुभयो। “आर्थिक अभावका कारण कुनै पनि बालबालिकाको पढाइ रोकिनु हुँदैन भन्ने हाम्रो मान्यता हो,” मिश्रले भन्नुभयो, “नियमित विद्यालय जान सहज होस् भन्ने उद्देश्यले वर्षदिनभर पुग्ने कापी, कलम, पेन्सिल, ज्यामिति बाकस, इरेजर झोला, विद्यालय पोशाक, जुत्ता, उपलब्ध गराइएको हो।”
यस वर्षको अभियानअन्तर्गत आज ५ जना विद्यार्थीलाई सामग्री वितरण गरिएको छ भने अझै १२ जनालाई वितरण गर्न बाँकी रहेको उहाँले बताउनुभयो। आगामी दिनमा पनि सहयोग अभियानलाई निरन्तरता दिइने मिश्रको प्रतिबद्धता छ।
शैक्षिक सामग्री वितरणपछि बालज्योती आधारभुत विद्यालयका प्रधानाध्यापक जगत बोहराले यस्ता सहयोगले विद्यार्थीहरूमा नयाँ उत्साह र आत्मविश्वास थपिने बताउनुभयो। “आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि यस्तो सहयोग ठूलो आधार हो। यसले अभिभावकको भार पनि केही हदसम्म हलुका बनाउँछ,” बोहराले भन्नुभयो, “सहयोगी मनहरू र पहलकर्ता सबैप्रति विद्यालय परिवार आभारी छ।”
सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उत्कृष्ट उदाहरण बनेको यो अभियानले शिक्षा नै जीवन रूपान्तरणको मुख्य आधार हो भन्ने सन्देश पुनः स्थापित गरेको छ।


