समाचार सारांश
- • यस क्षेत्रका नागरिकको आवाज नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यले बडूवालले एक डिजिटल प्लेटफर्म (स्क्यान) सार्वजनिक गर्दै सुझाव सङ्कलन प्रक्रिया अगाडि बढाएका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर–३ बाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका भीम बडूवालले मतदातासँग सुझाव सङ्कलनको अभियान सुरु गरेका छन्।
क्षेत्रका नागरिकको आवाज नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यले बडूवालले एक डिजिटल प्लेटफर्म (स्क्यान) सार्वजनिक गर्दै सुझाव सङ्कलन प्रक्रिया अगाडि बढाएका हुन्। उनले कैलाली–३ का साथै समग्र क्षेत्रका नागरिकको धारणा र अपेक्षा संसदमा प्रत्यक्ष रूपमा प्रतिबिम्बित गर्ने लक्ष्य लिएको बताए।
“यहाँका सबै बासिन्दाको आवाज संसदमा सुनियोस् भन्ने मेरो चाहना हो,” बडूवालले भने, “त्यसका लागि प्रविधिको प्रयोग गर्दै सुझाव सङ्कलनको अभियान थालेको हुँ।”
नागरिकलाई विकास निर्माण र नीति निर्माणको प्रक्रियामा प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यसहित यो अभियान सुरु गरिएको उनको भनाइ छ। क्षेत्रका जनताको आवाज प्रतिनिधिसभामा सशक्त रूपमा उठाउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
“भोटले सरकार त बन्छ, तर समृद्ध समाज निर्माणका लागि नागरिकको सुझाव र सक्रिय सहभागिता अपरिहार्य हुन्छ,” बडूवालले भने। दीर्घकालीन विकास, सुशासन र भुइँतहका समस्या नै आफ्नो आगामी नीति निर्माणको मुख्य आधार हुने उनले उल्लेख गरे।
कैलाली निर्वाचन क्षेत्र नम्बर–३ का प्रत्येक नागरिकको आवाज आफू बन्ने दाबी गर्दै बडूवालले देश तथा विदेशमा रहेका नागरिकबाट समेत सुझावको अपेक्षा गरिएको जानकारी दिए। “देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीबाट पनि सुझाव चाहन्छु,” उनले भने।




