कैलालीको घोडाघोडी नगरपालिका–२ मा रहेकाे तिलाकर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा साना व्यवसायी लक्षित तीन दिने लघु व्यवसाय खेल तालिम बिहिबार सम्पन्न भएको छ। तालिम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र जर्मन स्पार्कासेनस्टिफ्टुङ (German Sparkassenstiftung) को प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।
सहकारीमा आबद्ध साना व्यवसायीहरूलाई वित्तीय व्यवस्थापन, सीप विकास तथा प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले माघ १३ गतेदेखि सुरु भएको तालिम बिहिबार (माघ १५) गतेसम्म सञ्चालन भएको थियो । तालिमले शेयर सदस्यहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउने लक्ष्य राखेको आयोजकले जनाएको छ।
तालिम अवधिमा सहभागीहरूले ‘लघु उद्यम व्यवसाय विकास खेल तालिम’ नामक अभ्यासमार्फत सानो व्यवसाय सञ्चालनका क्रममा आवश्यक वित्तीय निर्णय, लगानी व्यवस्थापन, नाफा–नोक्सान विश्लेषण, बजार रणनीति, ग्राहक व्यवहार तथा प्रतिस्पर्धा व्यवस्थापनलगायत विषयमा समूहगत अभ्यास गरेका थिए। खेल विधिबाट सिकाइ गराइएकाले सहभागीहरूले व्यावसायिक सुधारका लागि सही निर्णय लिन व्यावहारिक अनुभव हासिल गरेको बताएका छन्।
कार्यक्रमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सौभाग्य भट्टराई र रविन्द्र श्रेष्ठले गरेका थिए। तालिममा सहकारीमा आबद्ध ३० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको सहकारीका व्यवस्थापक लालबहादुर भण्डारीले जानकारी दिए।




