कैलालीको ऐतिहासिक तथा धार्मिक स्थल घोडाघोडी नगरपालिका–७ कृतिपुरस्थित बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति तीर्थ मेला सुरु भएको छ । बिहीबार आयोजित एक कार्यक्रमबीच घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले मेलाको औपचारिक उद्घाटन गरेका हुन् ।
“भाषा, धर्म, संस्कृति तथा पर्यटन प्रवर्द्धन, पवित्र धार्मिक स्थल बुट्का बाबाको संरक्षण” भन्ने मूल नाराका साथ सुरु भएको माघी सङ्क्रान्ति तीर्थ मेला–२०८२ चार दिनसम्म सञ्चालन हुनेछ ।
मेलामा कैलालीसहित बर्दिया, दाङ, कञ्चनपुर लगायतका जिल्लाबाट हजारौँ श्रद्धालुको सहभागिता रहेको छ भने भारतको तिकुनिया, पलिया लगायतका क्षेत्रबाट पनि भारतीय नागरिक आउने गरेको बुट्का बाबा मन्दिर मेला व्यवस्थापन समितिले जनाएको छ ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, थारु संस्कृति झल्किने परम्परागत नृत्य, भेषभूषा तथा खानाको प्रदर्शन गरिने संयोजक अमन चौधरीले जानकारी दिए । साथै, थारु सांस्कृतिक कार्यक्रमसँगै स्थानीय परिकार तथा उपभोग्य वस्तुका एक सयभन्दा बढी स्टलहरू पनि सञ्चालनमा छन् ।
बुट्का बाबा मेला व्यवस्थापन समिति र घोडाघोडी मिडिया सञ्चार समूहको संयुक्त आयोजनामा मेला सञ्चालन गरिएको हो । २०२१ मा भूमि ऐन लागू भएपछि सो क्षेत्रमा बस्ती विकास भएसँगै बुट्का बाबाको पूजाआजा तथा मेला निरन्तर हुँदै आएको स्थानीय जानकारहरूको भनाइ छ ।
पौराणिक किंवदन्तीअनुसार भगवान् शिवको शक्तिपीठका रूपमा मानिने बुट्का बाबा मन्दिरमा माघ महिनामा दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । थारु भाषामा रुखको जरालाई ‘बुट्का’ भनिने र भगवान् शिवले यही स्थानमा ध्यान गरेको विश्वासका आधारमा मन्दिरको नाम बुट्का बाबा रहन गएको बताइन्छ ।
बुट्का बाबा मन्दिर मेला व्यवस्थापन समितिका संयोजक अमन चौधरीको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, भलाद्मी, प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष राजु बमले राखेका थिए भने सञ्चालन अन्जान चौधरीले गरेका थिए ।




