कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको नाममा दर्ता श्रेष्ता कायम रहेको कित्ता नम्बर ७ घ २५१ को १ बिघा ९ कठ्ठा २ धुर क्षेत्रफलको जग्गामा बनेका संरचना विद्यालयले हटाउने भएको छ।
विद्यालयले उक्त जग्गा खाली गराउन यसअघि सार्वजनिक सूचना जारी गर्दै १५ र ७ दिने म्याद दिएको थियो। तर सो म्याद पौष २८ गते समाप्त भइसक्दा पनि व्यापारी तथा त्यहाँ बसोबास गर्दै आएका व्यक्तिहरूले विद्यालयको सूचनालाई बेवास्ता गरेपछि विद्यालय बल प्रयोग गर्न बाध्य भएको विद्यालय प्रशासनले बताएको छ।
पौष २९ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले माघ २ गतेदेखि उक्त क्षेत्रमा जडान गरिएको विद्युत लाइन काट्ने र माघ ३ गते डोजर प्रयोग गरी संरचना हटाएर जग्गा खाली गर्ने निर्णय गरेको छ।
सो कार्य सुरक्षा संवेदनशील हुने भएकाले आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन विद्यालयले सम्बन्धित निकायसँग हार्दिक अनुरोधसमेत गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बहादुर हमालका अनुसार माघ २ गते घर–टहरा तथा व्यापारिक संरचनाको विद्युत लाइन काटिनेछ भने माघ ३ गते डोजर प्रयोग गरी पूर्ण रूपमा संरचना हटाइनेछ। बारम्बार सूचना दिँदा पनि विद्यालयको स्वामित्वमा रहेको जग्गा खाली नगरिएकाले बाध्य भएर यस्तो निर्णय लिनुपरेको अध्यक्ष हमालले बताए।
विद्यालय प्रशासनका अनुसार लामो समयदेखि विद्यालयको जग्गामा घर–टहरा बनाएर बसोबास तथा व्यापार व्यवसाय गर्दै आएका केही व्यक्तिहरूले विद्यालयलाई तिर्नुपर्ने भाडा समेत हालसम्म तिरेका छैनन् । यसले विद्यालयको आर्थिक, शैक्षिक तथा भौतिक विकासमा प्रत्यक्ष असर परेको विद्यालय प्रशासनको भनाइ छ।
यसअघि पनि विद्यालयले आफ्नो नाममा दर्ता श्रेष्ता रहेको तल्लो बजारस्थित ८ कठ्ठा जग्गा खाली गराइसकेको छ। सो जग्गामा हाल विशेष विद्यालयको भवन निर्माण कार्य भइरहेको छ।
विद्यालय प्रशासनले सम्बन्धित व्यक्ति तथा व्यापारीहरूलाई तोकिएको मितिभन्दा अगाडि स्वेच्छिक रूपमा संरचना हटाई विद्यालयको जग्गा खाली गर्न पुनः आग्रह गरेको छ।



