कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशिकरण (GESI) सम्बन्धी रिफ्लेक्सन कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ।
मर्सिकोर नेपालकी बरिष्ठ जेसी अधिकृत संगिता अधिकारीको सहजीकरणमा सम्पन्न गोष्ठीमा घोडाघोडी नगरपालिकामा लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशिकरणको वर्तमान अवस्था, विद्यमान चुनौती र आगामी दिनमा यस क्षेत्रलाई थप प्रभावकारी बनाउन सकिने योजना तथा कार्यक्रमबारे गहन छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले नगरपालिकाका आगामी नीति, योजना तथा कार्यक्रमहरूमा लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशिकरणलाई प्राथमिकताका साथ समेटिने प्रतिबद्धता व्यक्त गरे। उनले धेरै क्षेत्रमा समावेशिताको अवस्था अझै सन्तोषजनक नभएको स्वीकार गर्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म समावेशी दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता औंल्याए।
मर्सिकोर नेपाल र सेवक नेपालको आयोजनामा सम्पन्न उक्त गोष्ठीमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजक संस्थाहरूले यस किसिमका छलफलले स्थानीय तहमा समावेशी विकासलाई संस्थागत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।


