कैलालीको बर्दगोरिया गाउँपालिका–१ र ४ को सिमानामा रहेको काँडा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।
दुर्घटनामा घोडाघोडी नगरपालिका–११ निवासी २४ वर्षीय विशाल कठरियाको मृत्यु भएको हो। सोही मोटरसाइकलको पछाडि सवार रिता कठरिया घाइते भएकी छन्।
इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख प्रहरी निरीक्षक डम्बर बिष्टका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको से ७ प ८१६५ नम्बरको मोटरसाइकल महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया गाउँपालिका–१ र ४ जोड्ने काँडा नदीमाथिको पुलमा अनियन्त्रित भई ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक विशाल कठरियालाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते रिता कठरियाको अवस्था सामान्य रहेको र उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ।


