विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा समयमा विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटेको छ। प्राधिकरणको तथ्याङ्कअनुसार २०८१ भदौ ११ देखि ३१ गतेसम्म सुदूरपश्चिम प्रदेशका ३ सय ९८ ग्राहकको लाइन काटेको छ । लाईन काटिएपछि भने अधिकांश ग्राहकले महसुल तिरेका बताइएको छ ।

लाइन काटेपछि ३ सय ४९ ग्राहकले बक्यौता तिरेपछि हाल लाइन जोडिएको छ। अझै ४९ ग्राहकले बक्यौता रकम तिरेर छैनन् । उनीहरूको लाइन अझै जोडिएको छैन्।
नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता नतिरेका ग्राहकको लाइन काटिएको बताएका छन् । लाइन काटेपछि अधिकांश ग्राहकले बक्यौता तिरेपछि पुनः लाइन जोडिएको उनको भनाइ छ । बक्यौता रकम नतिरेसम्म बाँकी ग्राहकको लाइन नजोडिने उनको दाबी छ।

उनले बक्यौता नतिरेपछि नियमअनुसार असुल गर्न सर्वसाधारण ग्राहकको पनि लाइन काट्न बाध्य भएको बताए। बक्यौता नतिरेका अन्य ग्राहकको घरमा भने अझै लाइन जोडिएको छैन् । प्राधिकरणले बिल उपलब्ध गराएको सात दिनमै महसुल भुक्तानी गरे २ प्रतिशत छुट पाइने र मिटर रिडिङ भएको १६औँ दिनदेखि भने थप दस्तुर लाग्ने व्यवस्था छ।

मिटर रिडिङ भएको ६०औँ दिनसम्म महसुल नतिरे २५ प्रतिशत थप दस्तुर लाग्छ । त्यो अवधिमा बक्यौता नतिरे ग्राहकको लाइन काट्ने व्यवस्था छ। लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालो सूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ।
अब भने नजिकिँदै गरेको दसैँ, तिहारलाई लक्षित गरेर तत्कालका लागि विद्युत महसुल असुली अभियान स्थगित गरिएको प्राधिकरणले जनाएको छ।
