समाचार सारांश
- • अदालतमा छ र कारागार आगजनीमा संलग्न भएको आरोपमा थप चार गरेर १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
२४ भदौको जेनजी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा प्रहरीले अनुुसन्धानका लागि १० जनालाई पक्राउ गरेको छ । अदालतमा छ र कारागार आगजनीमा संलग्न भएको आरोपमा थप चार गरेर १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले अदालत र कारागारमा आगजनीमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
उनका अनुसार अदालतमा आगजनी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका– ३ का २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भएर धनगढी– ३ मा बस्ने २४ वर्षीय भरत बम, धनगढी–७ का एलेक्स चन्द, लक्ष्मण बहादुर विष्ट र धनगढी–१ मनोज विष्टलाई पक्राउ गरिएको छ ।
उनीहरुमाथि आन्दोलनको बलमा जिल्ला अदालतमा प्रवेश गरेर परिसरभित्रका सवारीसाधन, कार्यालय भवन, कार्यालय भवनभित्र रहेका विभिन्न मुद्दाका सक्कलै मिसिल, कम्प्युटर लगायत सूचना प्रविधिका उपकरणहरुमा आगजनी र तोडफोड गरेको अभियोग छ ।
जिल्ला अदालतले घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले अहिले ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जनाएको छ । उक्त प्रकरणमा संलग्न अन्यको पनि खोजी जारी राखिएको छ ।
यस्तै, जिल्ला कारागारमा आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा धनगढी–२ का २८ वर्षीय गोपाल भट्ट, धनगढी– ३ का जेम्स भनिने सुरज कटुवाल, धनगढी– ९ का ४० वर्षीय बसन्तराज जोशी र १९ वर्षीय अंकित सक्सेना रहेका छन् । उनीहरुलाई समेत हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


