कैलालीमा लागूऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । जिल्लाका छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले गौरीगंगा नगरपालिका–८ बडैपुर बजारमा ३० वर्षीय हरेन्द्र भाटलाई पक्राउ गरिएको छ । उनको साथबाट दुई ग्राम ९५० मिलिग्राम खैरो हेरोइन फेला पारी उनलाई इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ।
यस्तै, धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट शंका लागेर गरिएको चेकजाँचमा मोहनपुरका ३० वर्षीय रुमन चौधरीको साथबाट ३ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ। उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले पक्राउ गरेको हो।
दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





