समाचार सारांश
- • गत वर्षझैँ यस वर्ष पनि सो महोत्सव मङ्सिर ७ गतेदेखि ९ गतेसम्म घोडाघोडीमा आयोजना हुने आयोजक घोरीघोरा नगर भलमन्सा कार्य समितिले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
थारु समुदायको मौलिक संस्कृति, धर्म र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले कैलालीको घोडाघोडीमा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ।
गत वर्षझैँ यस वर्ष पनि सो महोत्सव मङ्सिर ७ गतेदेखि ९ गतेसम्म घोडाघोडीमा आयोजना हुने आयोजक घोरीघोरा नगर भलमन्सा कार्य समितिले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
विवाह पञ्चमीसँग जोडिएको धार्मिक र सांस्कृतिक पर्व
थारु समुदायले हरेक वर्ष विवाह पञ्चमीका दिन मनाउने लवाङ्गी पूजा धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
घोडाघोडी सन्त समागम समाज, संस्कृति संरक्षण समाज र घोरीघोरा नगर भल्मल्सा कार्य समितिको संयुक्त आयोजनामा हुने यो कार्यक्रममा ८४ गाउँका थारु समुदायको सहभागिता रहने जनाइएको छ।
पञ्चतत्त्व र अन्नसँग सम्बन्धित पूजा
लवाङ्गी पूजामा पञ्चतत्त्वको पूजा गरिन्छ। अन्नसँग जोडिएकाले पनि यसको धार्मिक र सांस्कृतिक महत्त्व रहेको छ।
“थारु समुदायले अन्नबाली घरमा भित्र्याइसकेपछि सर्वप्रथम देउतालाई अर्पण गर्ने परम्पराका रूपमा लवाङ्गी पूजा सुरु भएको हो,” समितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिनुभयो।
पहिले सामान्य रूपमा मनाइने यो पूजा पछिल्ला वर्षमा सांस्कृतिक महोत्सवको रूप लिँदै आएको छ, जसमा थारु परम्परागत भेषभूषा, खाना प्रदर्शनी र सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिँदै आएका छन्।
‘घोरीघोरा देउथान’ — थारुहरूको आस्थाको केन्द्र
अध्यक्ष चौधरीका अनुसार, “घोडाघोडी मन्दिरलाई थारु समुदायले घोरीघोरा देउथानका रूपमा मान्दछन्। यो मन्दिर होइन, देउथान हो, किनभने यहाँ परापूर्व कालदेखि नै देउतालाई बलि दिई पूजा हुँदै आएको छ।”
पूजाको अघिल्लो रात थारु गुरुवाहरूले ढाक बजाउने र धामी बस्ने चलन छ। पूजाका दिन बिहान देउतालाई छाँकी (रक्सी), कुखुरा, सुँगुर लगायतका बलि चढाइन्छ।
मुख्य गुरुले पूजा गरेपछि भलमन्साहरूले भोग दिने र त्यसपछि मात्र भक्तजनहरूले पूजा गर्ने प्रचलन छ।
मन्दिरमा पूजा सकेपछि सहभागीहरू आफ्ना गाउँको मरुवामा पनि पूजा गर्ने परम्परा रहिआएको छ।
थारु संस्कृतिको झल्को दिने विविध प्रस्तुति
समितिका सचिव अमन चौधरीका अनुसार, “थारु समुदायको मौलिक संस्कृति र परम्परा हराउँदै गएको अवस्थामा लवाङ्गी पूजा र महोत्सवले नयाँ पुस्तामा थारु पहिचान र गर्वको भावना जगाउनेछ।”
महोत्सवका अवसरमा हरेक वर्षजस्तै यसपटक पनि थारु संस्कृति झल्काउने नाच–गान र प्रदर्शनीहरू प्रस्तुत गरिनेछन्।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ भने थारु समुदायका बडका नाच, सखिया, लाठी, झुम्रा, कठरिया, दिन नचुवा, धमार, माङ्गरलगायतका सांस्कृतिक नृत्य प्रस्तुत गरिने जनाइएको छ।
यस अवसरमा कञ्चनपुर, बाँके, बर्दिया, दाङ लगायतका जिल्लाबाट समेत भक्तजनहरूको ठूलो उपस्थित हुने अपेक्षा गरिएको छ।



