
कैलालीको बर्दगोरियामा रहेको सहारा घरका लागि नयाँ भवन निर्माणको काम सुरु भएको छ । सहारा घरमा आश्रित असहायहरूको सहज व्यवस्थापन लागि निर्माण हुने १० कोठे पक्की भवनको शनिवार राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयाँलले शिलान्यास गरेका छन् ।
स्थानीय सरकारको योजना मागको आधारमा राष्ट्रिय योजना आयोगको सिफारिसमा सङ्घीय सरकाले चालू आर्थिक वर्ष २०८०/०८१ का लागि १ करोड ५० लाख विनियोजन गरेको थियो । ठेक्का प्रक्रिया मार्फत ९२ लाखमा उक्त भवन निर्माणको काम अघि बढेको छ । यसका लागि हिमशिखर इन्जिनियरिङ प्रा.ली. सिन्धुलीका प्रमुख इन्जिनियर भुवन थापाले भवनको नि:सुल्क डिपिआर तयार पारिदिएका थिए ।

भवन शिलान्यास गर्दै आयोगका सदस्य फुयाँलले कम लगानीमा बर्दगोरिया गाउँ सरकारले सुरु गरेका कामहरूको प्रशंसा गरे । साथै उनले सहारा घर सञ्चालनका लागि सरकार थप जिम्मेवार बन्नु पर्ने भन्दै सोही आधारमा भवन निर्माणका लागि बजेटको व्यवस्था गरेको उल्लेख गरे ।

२०७० सालबाट सुरु भएको सहारा घरमा हल सम्म ५ सय बढी असहायले सहारा लिएका छन् । ३ सय ८० जनाको पारिवारिक मिलन गराएको छ भने ८४ जना अहिले आश्रय लिइरहेका छन् । यस्तै हाल सम्म ३४ जनाले सोही घरमा देह त्याग गरेका छन् । सहारा घरमा बालबालिका, महिला र पुरुषका लागि छुट्टाछुट्टै आवासको व्यवस्था गरिएको छ ।


प्रकाशित :- २०८० माघ १३, गते शनिबार