आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ को समूह ‘सी’मा अन्तर्गत भर्खरै सम्पन्न खेलमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ ।
आफ्नो पहिलो खेलमा युगान्डाविरुद्ध १ सय २५ रनको फराकिलो सानदार जित निकाल्दै अफगानिस्तानले विजयी सुरुवात गरेको हो ।
अफगानिस्तानले दिएको १ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा मात्रै ५८ रनमा समेटिन पुग्यो ।
युगान्डाका रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउन बाहेक कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन् ।
युगान्डालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले ५ विकेट हात पारे । ४ ओभर बलिङ गरेका उनले मात्रै ९ रन खर्चिए । यस्तै, नवीन उलहक र कप्तान राशिद खानले २/२ तथा मुजिब उर रहमानले १ विकेट लिए ।
यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रनको विशाल आँकडा खडा गर्यो ।
उसका लागि ओपनरद्वय रहमानुल्लाह र इब्राहिम जद्रानले अर्धशतकीय पारीमा अफगानिस्तानले ठूलो योगफल बनाएको हो । गुर्बाजले ७६ र इब्राहिमले ७० रन बनाए ।
ओपनर बाहेकका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । मोहम्द नाबी १४ रनमा अविजित रहे ।
युगान्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले २/२ र अलेपेश रमजानीले १ विकेट लिए ।


