कैलालीको घोडाघोडीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ ।
घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरेका छन् । घोडाघोडीमा पछिल्लो समय खेलकुदको गतिविधि बढिरहेको भन्दै नगरप्रमुख रावतले मैत्रीपूर्ण प्रतियोगिताले पनि यहाँको खेलकुदको गतिविधि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।
प्रतियोगिताको निरन्तरताको लागि शुभकामना व्यक्त गर्दै नगरप्रमुख रावतले घोडाघोडीका सञ्चारकर्मीहरूले यस क्षेत्रको विषय उठाउनुको साथै खेलकुदको माध्यमबाट समाजमा मित्रता, आत्मीयता र भ्रातृत्व बढाउन ठुलो भूमिका खेलिरहेको बताएका थिए ।
घोडाघोडी सञ्चारकर्मी समूहको आयोजनामा भइरहेको प्रतियोगिताको उद्घाटन सत्र समूहका अध्यक्ष खेम ढुङ्गानाको अध्यक्षतामा समापन गरिएको थियो । अध्यक्ष ढुङ्गानाले प्रत्येक वर्ष आयोजना भइरहेको मैत्रीपूर्ण फुटबल प्रतियोगिताले यस क्षेत्रमा फुटबलको क्रेज बढाइरहेको बताए । आगामी वर्ष अझै भव्य र वृहत् प्रतियोगिता आयोजना गरिने उनले बताएका थिए ।
उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै संस्थाका सल्लाहकार प्रकाश मिश्रले घोडाघोडीका सञ्चारकर्मीहरूले मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेर सृजनशील काम गरिरहेको बताएका थिए । उनले सबैको साथ र सहयोगबाट आगामी दिनमा पनि सञ्चारकर्मी समूहले समाजमा एकता र सद्भाव बढाउँदै संवृद्ध र विकासयुक्त घोडाघोडी निर्माणमा भूमिका खेल्ने बताएका थिए ।
नगरपालिका उपसचिव खगेन्द्र सिंह, इलाका प्रहरी कार्यालय सुखडका प्रमुख रमेशदत्त अवस्थी विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार महासङ्घ लगायत विभिन्न पेसागत समितिका पदाधिकारीहरू , घोडाघोडीका सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उद्घाटन सत्रमा सहभागी थिए । संस्थाका सचिव वीरेन्द्र शाहले कार्यक्रम सञ्चालन गरेका थिए ।
आजको खेलमा पाँच टिम विजयी
आज पहिलो दिन भएको खेलमा पाँच टिम विजयी भएका छन् । पहिलो चरणको अन्तिम खेल भोलि हुने छ। पहलमानपुरको कान्तिराज्यलक्ष्मि माध्यमिक विद्यालयमा भएको पहिलो खेलमा कर्मचारीको टिमले घोडाघोडी सुनचाँदी व्यवसायी सङ्घलाई पराजित गरेको थियो ।
दोस्रो खेलमा त्रिवेणि बजार टिमले डिभिजन बन कार्यालयको टिमलाई हराएको थियो । त्यस्तै तेस्रो खेलमा आयोजक टिम विजयी भयो । जेसिज टिम आयोजक सञ्चारकर्मी समूहसँग निकै प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो ।
पेनाल्टी सुट आउटमा पनि ९ जना खेलाडीसम्मले प्रहार गर्दा बराबरी भए पनि अन्तिममा जेसिजका खेलाडीले हानेको प्रहार सञ्चारकर्मी समूहका गोरक्षक प्रकाश मिश्रले उत्कृष्ट बचाउ गरेपछि आयोजकले बाजी मारेको थियो ।
चौथो खेलमा संस्थागत विद्यालय ए ले सामुदायिक विद्यालयलाई पेनाल्टीमै पराजित गरेको थियो । पाँचौँ तथा अन्तिम खेलमा संस्थागत विद्यालय बि घोडाघोडी व्यवसायी टिमसँग पराजित भएको छ।
पहिलो चरणको अन्तिम खेल भोली बिहान ८ बजे जनप्रतिनिधि र भल्वन्साबीच हुने छ।
दोस्रो चरणमा को को भिड्दै छन् ?
दोस्रो चरणको पहिलो खेलमा त्रिवेणी बजार टिम र घोडाघोडी व्यवसायी भिड्दा दोस्रो खेलमा आयोजक सञ्चारकर्मी समूह र संस्थागत विद्यालय ए बिच प्रतिस्पर्धा हुने छ । अन्तिम खेल पहिलो चरणको विजेतासँग कर्मचारी टिमले खेल्ने छ ।
भोली नै फाइनलको तयारी भइरहेको छ । विजेतालाई आकर्षक खसी तथा दोस्रो लाई आकर्षक बोकाको व्यवस्था गरिएको छ ।





