समाचार सारांश
- • प्रदर्शनकारीले नगरपालिकाको प्रशासकीय भवनका साथै १२ वटै वडा कार्यालयमा तोडफोड गरी सामग्रीमा आगो लगाएपछि नियमित कार्यसञ्चालनमा समस्या भएको हो ।
- • नगरपालिकामा हालसम्म कुनैपनि वडा कार्यालयले सेवा सुचारु गर्न सकेका छैनन् । नगरको नियमित कार्यसञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने अधिकृत रेग्मीले बताए ।
जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेपछि घोडाघोडी नगरपालिकामा कार्यसञ्चालन हुन सकेको छैन ।
प्रदर्शनकारीले नगरपालिकाको प्रशासकीय भवनका साथै १२ वटै वडा कार्यालयमा तोडफोड गरी सामग्रीमा आगो लगाएपछि नियमित कार्यसञ्चालनमा समस्या भएको हो । 
नगर प्रमुख खडक रावतको जलेको कार्यकक्ष
तोडफोड र आगजनी गरी जलाइएका संरचना तथा सामग्रीको क्षतिको मुचुल्का तयार गर्न, मूल्याङ्कन गर्न, सरसफाइ गर्न समय लाग्ने भएकाले कार्यालय सञ्चालन हुन नसकेको नगरपालिकाका सूचना अधिकारी शाखा अधिकृत उमेश राज रेग्मीले बताए । उनका अनुसार प्रदर्शनकारीले नगरपालिकाको प्रशासकीय भवन र वडा नं १ देखी १२ वटै वडा कार्यालयका भवनमा आगो लगाएर नोक्सानी गरेका छन् भने कार्यालयभित्रका महत्त्वपूर्ण कागजपत्र, पङ्खा, फर्निचर, कम्प्युटर, एसी, प्रिन्टरलगायत सामग्री जलाएका छन् ।

जलाइएको कम्प्युटर
नगरपालिका भित्र रहेका ल्यापटपसहित महत्वपूर्ण सामग्री लुटेर लगेका नगरपालिकका कर्मचारीको भनाइ छ । नगरपालिकामा हालसम्म कुनैपनि वडा कार्यालयले सेवा सुचारु गर्न सकेका छैनन् । नगरको नियमित कार्यसञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने अधिकृत रेग्मीले बताए ।




