कैलालीको घोडाघोडी नगरपालिकामा भएको तोडफोड र लुटपाट प्रकरणपछि प्रहरीले चोरिएका सामान खरिद–बिक्री नगर्न चेतावनी दिएको छ।
२०८२ साल भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनका क्रममा तोडफोड गरी नगरपालिका भवन, वडा कार्यालय, इलाका प्रशासन कार्यालय, विभिन्न राजनीतिक दलका पार्टी कार्यालय, प्रहरी बिट तथा निजी निवासबाट कम्प्युटर, ल्यापटप, कागजात, ब्याट्री, जिन्सी सामान, बहुमूल्य वस्तु तथा सरकारी मालसामान चोरी गरिएको थियो। ती सामान बजारमा बिक्री भइरहेको तथा घरमा लुकाइ राखिएको भन्दै प्रहरीले विशेष अनुरोध गरेको हो।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी रमेश दत्त अवस्थीले एक विज्ञप्ति जारी गर्दै ती सामान कुनै व्यापारी वा सर्वसाधारणले किनबेच नगर्न आग्रह गरेका छन्। उनले सो सम्बन्धमा प्राप्त सूचना नजिकैको प्रहरी कार्यालयमा खबर गर्न र फेला परेमा सुरक्षा निकायलाई बुझाउन समेत अनुरोध गरेका छन्।
प्रहरीका अनुसार “चोरी तथा लुटपाट भएका सामान खरिद–बिक्री वा घरमा राखेको पाइएमा प्रचलित कानुनअनुसार कडाभन्दा कडा कारबाही हुनेछ।” 
यसैबीच अवस्थीले नगरपालिकाबाट लिएका सम्पूर्ण सरकारी तथा निजी सामान स्वेच्छाले बुझाउन आह्वान गर्दै, नबुझाए प्रहरी आफैंले फेला पार्दा कानुनी कारबाही हुने बताएका छन्।


