समाचार सारांश
- • भारतको पश्चिम बङ्गाल घर भएका ३८ वर्षीय सत्य जित दत्त पक्राउ परेका छन्।
- • इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी रमेश दत्त अवस्थीका अनुसार भाद्र ३ गते दिउँसो टाउको दुखाइका कारण क्लिनिक पुगेकी करिब ३० वर्षीया महिलामाथि दत्तले उपचार गर्ने बहानामा जबरजस्ती करणी प्रयास गरेका हुन्।
कैलालीको घोडाघोडी नगरपालिका–१२ की एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा भारतको पश्चिम बङ्गाल घर भएका ३८ वर्षीय सत्य जित दत्त पक्राउ परेका छन्। उनी विगत १६ वर्षदेखि सोही वडामा ‘मैनादेवी स्वास्थ्य परामर्श सेवा’ नामक स्वास्थ्य क्लिनिक भाडामा लिएर सञ्चालन गर्दै आएका थिए।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी रमेश दत्त अवस्थीका अनुसार भाद्र ३ गते दिउँसो टाउको दुखाइका कारण क्लिनिक पुगेकी करिब ३० वर्षीया महिलामाथि दत्तले उपचार गर्ने बहानामा जबरजस्ती करणी प्रयास गरेका हुन्। उनले पीडितलाई दुई बोतल सलाइन दिएर थप उपचार गर्ने भन्दै भित्री कोठामा लगेका थिए। त्यहाँ महिलाको संवेदनशील अंग छोएर बलात्कार गर्न खोज्दा महिलाले प्रतिकार गरेको र त्यसक्रममा दत्तले धम्कीसमेत दिएको जाहेरीमा उल्लेख छ।
घटना घटेको भोलिपल्ट भाद्र ४ गते पीडितले प्रहरीमा उजुरी दिएपछि सोही दिन दत्तलाई क्लिनिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार उक्त स्वास्थ्य क्लिनिक अरू कसैको नाममा दर्ता भए पनि दत्तले भाडामा लिएर सञ्चालन गर्दै आएका थिए। यस्ता घटनाले ग्रामीण क्षेत्रमा सञ्चालन भइरहेका निजी स्वास्थ्य सेवा केन्द्रहरूको नियमन र अनुगमनमा गम्भीर प्रश्न उठाएको छ।




