समाचार सारांश
- • कैलालीको गौरीगंगा नगरपालिकामा नगरप्रमुख देवीदत्त कँडेलले ठेकेदारसँग मिलेमतो गरी पालिकाको राजस्व आफ्नै निजी पेट्रोल पम्पमा जम्मा गरेको तथ्य सार्वजनिक भएको छ ।
- • नगरपालिकाको वडा नं. ४ स्थित जोगनिया तालको ठेक्काबाट संकलन हुनुपर्ने पाँच लाख रुपैयाँ नगरको खातामा नगई ‘मनमाना पेट्रोल पम्प’मा जम्मा भएको हो ।
- • ठेक्का पाएका ठेकेदार मोहन गिरीले मेयरकै निर्देशनमा दुई किस्तामा उक्त रकम पम्पमा बुझाएको स्वीकार गरेका छन् ।
कैलालीको गौरीगंगा नगरपालिकामा नगरप्रमुख देवीदत्त कँडेलले ठेकेदारसँग मिलेमतो गरी पालिकाको राजस्व आफ्नै निजी पेट्रोल पम्पमा जम्मा गरेको तथ्य सार्वजनिक भएको छ ।
नगरपालिकाको वडा नं. ४ स्थित जोगनिया तालको ठेक्काबाट संकलन हुनुपर्ने पाँच लाख रुपैयाँ नगरको खातामा नगई ‘मनमाना पेट्रोल पम्प’मा जम्मा भएको हो ।
ठेकेदारकै स्वीकारोक्ति
ठेक्का पाएका ठेकेदार मोहन गिरीले मेयरकै निर्देशनमा दुई किस्तामा उक्त रकम पम्पमा बुझाएको स्वीकार गरेका छन् । उनका अनुसार, पहिलो पटक दुई लाख र दोस्रो पटक तीन लाख रुपैयाँ जम्मा गरिएको थियो । गिरीले सो तालको ठेक्का पालिका गठन हुनुभन्दा अघि साविक चौमाला गाविससँग लिएको बताए । तर पालिका गठन भएपछि ठेक्कासम्बन्धी सबै जिम्मेवारी स्थानीय तहमा आए पनि रकम नगरको खातामा नजाँदा गम्भीर अनियमितता भएको स्पष्ट भएको छ ।
कागजात गायब, राजस्व शाखासँग विवरण छैन
राजस्व शाखामा सोध्दा जोगनिया तालसम्बन्धी ठेक्का सम्झौता, तिरेको रकम वा बाँकी रहेको विवरण फेला नपरेको शाखा प्रमुख चित्रराज जोशीले बताए । नगरपालिकाका एक कर्मचारीका अनुसार मेयरसँग नजिकका कर्मचारीहरूले जानाजानी पुराना कागजात गायब पारेका छन् ।
मौखिक सहमति र रकम मिनाहा गर्ने प्रस्ताव
स्रोतका अनुसार, मेयर कँडेलले ठेकेदारसँग मौखिक सहमति गर्दै रकम आफ्नो पम्पमा राख्ने र बाँकी रकम मिनाहा गर्ने प्रस्ताव गरेका थिए । केही समयअघि कार्यपालिकाको बैठकमा यो विषय उठेपछि मेयरले गल्ती स्वीकार गर्दै रकम छिट्टै नगरको खातामा फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए । तर, समाचार तयार पार्दासम्म रकम फिर्ता भएको छैन ।
अन्य तालसमेत अभिलेखविहीन
जोगनिया ताल मात्र नभई भैसवा, वनताल, लोटेहुवा, रारा, त्रिवेणी र चम्रैया ताल समेत ठेक्कामा दिइएका छन् । तर कसले, कहिले, कति रकममा ठेक्का लियो भन्ने कुनै अभिलेख नगरसँग नरहेको देखिन्छ । स्थानीय बासिन्दाहरूले मेयरले आन्तरिक मिलेमतोका आधारमा केही ठेकेदारलाई रकम नै नतिरी काम गराएको आरोप लगाएका छन् ।
आफ्नै पार्टीभित्रै आलोचना
यस्ता गतिविधिका कारण मेयर कँडेलमाथि आफ्नै पार्टीभित्रका जनप्रतिनिधिहरू समेत असन्तुष्ट बनेका छन् । वडा नं. ९ का अध्यक्ष राजकुमार थारु लगायतका वडाध्यक्षहरूले मेयरले तत्काल गल्ती सच्याएन भने कडा कदम चाल्ने चेतावनी दिएका छन् । स्थानीय नागरिकहरूले समेत निष्पक्ष छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
विगतदेखि नै विवादित
यसअघि पनि मेयर कँडेलमाथि सरकारी ढुङ्गा–गिट्टी हिनामिना गर्ने, आफ्नै जन्मदिनको खर्च पालिकालाई तिराउन दबाब दिने, कार्यालयको सामान घरमा लैजाने, आफ्नै घरमा प्रमुख प्रशासकीय अधिकृतलाई डेरामा राखेर दोब्बर भाडा लिने जस्ता गम्भीर आरोप लागिसकेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण
अनियमिततामाथि निगरानी बढाउन थालेपछि प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि समेत आक्रमण भएको थियो । गत साउन १ गते मेयरका ज्वाइँ उमेश जोशीले कार्यकक्षमै हातपात गरेका थिए । घाइते जोशी अहिले काठमाडौंमा उपचाररत छन् भने पालिका अहिले प्रशासकीय अधिकृतविहीन बनेको छ ।
फरार रहेका उमेश जोशी पछि अदालतमा उपस्थित भई ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
स्थानीयको माग
लगातार उजागर भइरहेका अनियमितताका कारण गौरीगंगा नगरपालिकाको साख गिर्दै गएको स्थानीयले बताएका छन् । उनीहरूले तत्कालै उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कानूनी कारबाही गर्न माग गरेका छन् ।


