डिभिजन वन कार्यालय, पहलमानपुरका तत्कालीन प्रमुख राम बिचारी ठाकुरको जग्गा नेकपा बहुमतले कब्जा गरेको छ ।
कैलालीको भजनी नगरपालिका–९ का लोकेन्द्र चौधरीको जग्गा जालझेल गरेर आफ्नो नाममा दर्ता गरेको भन्दै नेकपा बहुमतले जग्गा कब्जा गरेको हो ।
नेकपा बहुमत निकट युवा संगठनका नेता दीपेन्द्र ऐरले लोकेन्द्र बहादुर चौधरीको २१ दशमलव १० धुर जग्गा रामबिचारीले आफ्नो नाममा जालझेल गरेर लगेको भन्दै कब्जा गरेको बताए । 
स्रोतका अनुसार ठाकुरले पहलमानपुर डिभिजनमा हुँदा चौधरी सँग २ लाख ५५ हजारको दरभाउमा जग्गा किन्ने सहमति गरेका थिए । तर आफु सरकारी कर्मचारी भएको र सो बराबरको जग्गा खरिद गरेको देखाउन नमिल्ने भन्दै आफुले २ लाख ५५ हजार नै दिने भएपनी १ लाख २५ हजारमा मात्र किनेको देखाउन मिल्ने गरी जग्गा पास गरिदिन चौधरीलाई आग्रह गरेका थिए । चौधरीले ठाकुरको आग्रह अनुसार नै हाकिम ठाकुरको नाममा जग्गा पास गरिदिए तर जग्गा पास गरेपछि भने ठाकुरले पूर्वसहमती अनुसार पैसा नदिएपछि ठाकुरको जग्गा विवाद सतहमा आएको हो । ठाकुर पहलमानपुर डिभिजनमा विवादमा परेपछि सरुवा गरिएको थियो । 


