महिला हुन ! महिलाले केही गर्न सक्छन् र ? जातै त महिला छ पोथी बास्नु राम्रो होइन नि ! यी र यस्ता वाक्यहरू नेपाली समाजमा अहिले पनि प्रयोगमा आउन पूर्ण रूपमा छुटेका छैनन् । जसले महिलाको क्षमता माथि प्रश्न त उठाउँछ नै केही गर्न खोज्ने महिलालाई समेत यस्ता शब्दले निर्धारित निर्णय बदल्न बाध्य तुल्याउँछ ।

उसो त हरेक निर्णायक तहमा महिला सहभागिता बढाउन संविधानले नै कोटा निर्धारण गरेको छ । हरेक ठाउँमा ३३ प्रतिशत महिला सहभागिता । सरकारको यो नीति कसैलाई आफ्नो क्षमता देखाउँदै निर्णायक तहमा पुग्ने तथा नेतृत्व गर्ने माध्यम बनेको छ भने कसैको रहर पुरा गर्ने माध्यम अनि कतिको इच्छा नहुँदा पनि बाध्यता (कोटा) ले ठाउँमा पुग्ने अनि हराउने काम ।
महिलालाई कमजोर देखाउने र पुरुष नै शक्तिशाली ठान्ने नेपाली समाजलाई कैलालीको लम्कीचुहा नगरपालिकाको नेतृत्वले गतिलो झापड दिएको छ । महिलाको कोटाबाट नभई खुल्ला प्रतिस्पर्धा बिच आफ्नो क्षमता, कुशलता र विश्वसनीयताले अहिले लम्कीचुहा नगरपालिकालाई महिला नेतृत्वले हाँकेको छ । जनप्रतिनिधिका रूपमा प्रमुख र उप–प्रमुख त महिला छन् नै पालिकामा प्रशासनको नेतृत्व गर्ने ठाउँमा समेत महिला छन् ।

यस पालिकाको प्रमुख छन् सुशीला शाही । उनी नेपाली काँग्रेसबाट निर्वाचित मेयर हुन । स्थानीय तह निर्वाचन २०७९ मा उनले नेकपा एमालेबाट निवर्तमान मेयर समेत रहेका महादेव बजगाईँलाई हराउँदै महिला मेयरको इतिहास रचिन । उनले माओवादी–काँग्रेस गठबन्धनको तर्फबाट १२ हजार ७ सय १३ मत प्राप्त गरेकी थिइन ।

यस्तै पालिकाको उप–प्रमुख छन् जुना चौधरी । उनी नेकपा एमालेबाट निर्वाचित उप–मेयर हुन । उनले माओवादी–काँग्रेस गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी जानकी कुमारी सिंहलाई हराउँदै उप–मेयर बनिन् । उनले ११ हजार ७ सय ८ मत प्राप्त गरेकी थिइन ।

महिला मेयर र उप–मेयरले दौडाई रहेको पालिकालाई थप गति दिन प्रशासन प्रमुखको रूपमा आइपुगिन सुषमा केसी महत । उनी गत भदौमा कार्यालयमा हाजिर भए सँगै सुशासन कायम गर्दै अनावश्यक खर्च कटौती, मेयर तथा उप–मेयरलाई सकारात्मक सल्लाह सुझाव सहित प्रशासनलाई दौडाएकी छन् । यस अघि उनी स्वास्थ्य मन्त्रालयको प्रशासन शाखामा थिइन । उनी सँग अर्थ मन्त्रालय, क्षयरोग केन्द्र भक्तपुर, मानव अङ्ग प्रत्यारोपण केन्द्र लगायतका थुप्रै कार्यालयहरूको अनुभवले पनि लम्कीचुहाको प्रशासन हाँक्न सहज बनाएको छ ।
लम्कीचुहा देशभरकै स्थानीय तहहरू मध्ये महिला प्रतिनिधित्वका दृष्टिले नमुना रहेको चर्चा चल्न थालेको छ । महिला प्रतिनिधित्वले महिला सहभागिता मात्र नभई कार्य सम्पादन, बजेट निर्माण तथा परिचालन र कार्यान्वयनका हिसाबले समेत उत्कृष्ट बनेको स्थानीयहरू बत्ताउँछन् । पुरुषको तुलनामा महिला नेतृत्वले अझै धेरै विकास गरेको अनुभूति नागरिकहरूको छ ।
महिला नेतृत्व र प्रतिनिधित्वका दृष्टिले हेर्ने हो भने पालिकाका १० वटा वडा मध्ये ४ वटा वडामा सचिव महिला छन् । उप–मेयरको संयोजकत्वमा रहने न्यायिक समितिमा वडा नम्बर ५ की वडा अध्यक्ष माया विष्ट र कार्यपालिका सदस्य मिना चौधरी सदस्य छन् । यस्तै पालिकामा रोजगार, स्वास्थ्य र न्यायिक समिति शाखा प्रमुख तथा प्राविधिक लगायतका पदमा समेत महिलाहरूकै नेतृत्व छ ।
महिला नेतृत्वको इतिहास बनाउने मात्र नभई लम्कीचुहाको विकासका लागी नेतृत्व तहमा पुगेको बताउने मेयर सुशीला शाहीको कामको गति समेत रफ्तारमा देखिन्छ । विद्यालय तथा सामुदायिक भवन निर्माण, महिलाका लागी सुरक्षित आवास, सुकुम्वासीका आवास निर्माण, सडक चौडा तथा स्तर उन्नति, खानेपानी, कृषि क्षेत्रमा लगानी लगायतका कामहरू नागरिकमा चर्चामा छन् ।
नेपाली समाजमा विगतको तुलनामा महिलालाई हेर्ने दृष्टिकोण केही सकारात्मक देखिए पनि क्षमता र कर्मका सवालमा पुरुष जस्तै ढुक्क भएर विश्वास गर्ने वातावरण अझै पनि नभएको मेयर शाहीको अनुभव छ । “नेतृत्वमा पुगेको महिला होस वा पुरुष सामान्य नागरिकले हेर्ने दृष्टिकोणमा केही फरक छैन । तर समाजको नेतृत्व गर्ने, माथिल्लो तहमा पुगेका, अलि बुझ्नु पर्ने वर्गका मानिसहरूले महिलाको कामलाई अझै पनि विश्वास नगर्ने र सहयोग पनि गर्न नचाहने अवस्था छ । समग्र पालिकाको विकासको सवालमा छलफल गरौँ भन्ने हो भने पनि त्यस्ता मानिसहरू खुलेर वा महिला नेतृत्व स्वीकार गरेर मन देखी सहकार्य गरेको देखिँदैन ।” उनले भनिन् ।
यस्तै अनुभूति उप–मेयर जुना चौधरीको पनि छ । उनका अनुसार महिला नेतृत्व स्वीकार गर्ने सवालमा विगतको जस्तो जटिल नभए पनि पूर्ण परिवर्तन पनि भएको छैन । “पहिले जस्तो ह्या महिला त हुन १ के गर्लान् १ भन्ने अवस्था छैन तर निर्धक्क भएर नेतृत्व स्वीकार गर्न सकेको अवस्था पनि छैन । लम्कीचुहामा हामी महिलाहरूले नेतृत्व गरिरहँदा बल्ल केही परिवर्तन देखिन थालेको छ । महिलालाई विश्वास गर्ने वातावरण बन्दै छ ।” उनले भनिन् ।
लम्कीचुहामा जनप्रतिनिधिका रूपमा महिला नेतृत्व र प्रशासनमा पनि महिला नेतृत्व भएका कारण कार्यालयको कार्य सम्पादनमा निकै सहज भएको प्रमुख प्रशासकीय अधिकृत सुषमा केसी महतको अनुभव छ । “पालिकाको मूल नेतृत्वमा हामी सबै महिला भएकाले काम गर्न निकै सहज छ । कार्य योजना बनाउन समयले छेक्दैन, कुनै छलफल गर्दा समय, स्थान र अवस्थाले असहज हुँदैन, महिला भएकै कारण भावना बुझ्ने, समस्या बुझ्ने लगायतमा निकै सहज छ । आन्तरिक कुरा मात्र होइन पालिकाको समग्र विकास, बजेट निर्माण, समस्या पहिचान तथा सेवा प्रवाहमा समेत सहज हुन्छ ।” उनले भनिन् ।
गुरु उप–मेयर, शिष्य मेयर
लम्कीचुहा नगरपालिकाको नेतृत्व हाँक्ने महिला मात्र नभई गुरु चेली समेत हुन । विगतमा मेयर सुशीला शाही उप–मेयर जुना चौधरीको विद्यार्थी हुन । चौधरीले राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतीपुरमा १७ वर्ष शिक्षण गरिन । सोही अवधिमा वर्तमान मेयर शाही पनि सोही विद्यालयमा अध्ययनरत थिइन ।
“मलाई वर्ष त ठ्याक्कै याद छैन । यस्तै ५-८ कक्षामा मैले उहाँलाई पढाएको हो । उहाँ सानै देखी बढी झगडालु हुनुहुन्थ्यो । बढी झगडा गर्ने, ग्याङ बनाउने, केटाहरूलाई पनि पिटिदिने, फेरी एक छिनमा मिलिहाल्ने खालको अनि पढाइमा पनि राम्रै हुनुहुन्थ्यो । मलाई यस्ता मान्छेहरू प्रगति गर्छन् भन्ने लाग्थ्यो । आज मैले ठिक सोचेको रहिछु भन्ने लाग्छ । उहाँ आज म भन्दा माथि हुनुहुन्छ । उहाँको प्रगतिमा निकै खुसी छु ।” वर्तमान उप–मेयर चौधरीले भनिन् ।
यता मेयर शाहीलाई उप–मेयर चौधरीले पढाएको कुरा सपना जस्तै लाग्छ । तत्कालीन अवस्थामा उमेर सानो भएर हुन सक्छ गुरु जत्तिको स्मृति र सम्झना उनमा छैन । जे होस, लम्कीचुहाको नेतृत्व सम्हालेका गुरु चेलीले समग्र पालिकाको विकासका लागी आ–आफ्नो क्षेत्रबाट निरन्तर लागी परेका छन् ।