च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पराजय भोगेसँगै घरेलु टोली पाकिस्तानको सेमिफाइनल यात्रामा समेत धक्का पुगेको छ । उद्धघाटन खेलमा न्युजिल्याण्डसँग ६० रनले पराजित बनेको पाकिस्तान सङ्कट परेको हो । च्याम्पियन्स ट्रफीमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा पाकिस्तान र न्युजिल्याण्डसँगै साविक उपविजेता भारत र बङ्गलादेश समेत रहेका छन् । जसमा आज भारत र बङ्गलादेश भिड्ने भएका छन् । दुई समूहबाट दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
पहिलो खेलमा न्युजिल्याण्डले दिएको ३ सय २१ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ४७.२ ओभरमा सबै विकेट गुमाएर मात्रै २ सय ६० रन बनाउन सक्यो । उसका लागि खुशदिल शाहले सर्वाधिक ६९ तथा ओपनर बाबर आजमले ६४ रनको अर्धशतकीय पारी खेल्दा सलमान अलि अघाले ४२ रन जोडे । बाँकी व्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङ तर्फ न्युजिल्याण्डका विलियम ओ’रोर्के र कप्तान मिचेल सान्टनरले समान ३ विकेट हात पार्दा, म्याट हेनरीले २ तथा नेथन स्मिथ माइकल ब्रेसवेलले समान १ विकेट लिए ।
त्यस अघि ओपनर विल योङ र विकेट किपर टोम लाथमको शतक प्रहार गर्दा न्युजिल्याण्डले ५ विकेटको क्षतिमा ३ सय २० रनको विशाल योगफल खडा गरेको थियो ।
पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको न्युजिल्याण्डका लागि लाथमले अविजित सर्वाधिक १ सय १८ रनको पारी खेलेका थिए । १ सय ४ बलको सामना गरेका उनले १० चौका र ३ छक्का प्रहार गरे । उनले एकदिवसीय करियरको आठौं शतक ९५ बलमा पूरा गरेका थिए ।

योङले १ सय १३ बलमा १२ चौका र १ छक्काको सहयोगमा १ सय ७ रन जोडे । एकदिवसीय करियरको चौथो शतक योङले १ सय ७ बलमा पूरा गरे । पाँचौ विकेटका लागि लाथम र ग्लेन फिलिप्सले १ सय २५ रनको शतकीय साझेदारी गरे ।

फिलिप्सले ३९ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय इनिङ खेले । डेभेन कन्वे र ड्यारिल मिचेलले समान १० रन जोड्दा केन विलियम्स १ रनमा पेभिलियन फर्किए ।
पाकिस्तानका लागि नशिम साहले २, अबरार अहमद र हरिस रउफले समान १ विकेट लिए ।
च्याम्पियन्स ट्रफी खेल्न भारतीय टोली पाकिस्तान नजाने भए पछि प्रतियोगितामा भारतले आफ्नो सबै खेल युएईमा खेल्नेछ ।
दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् ।
अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।

