कैलालीको धनगढीमा शनिबारदेखि सुरु भएको अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनशिप क्रिकेट प्रतियोगितामा डिसिए धनगढीले पहिलो जित हात पारेको छ । आईतबार दिउँसो भएको दोस्रो खेलमा घोडाघोडी ११ सुखडलाई ६९ रनले पराजित गर्दै धनगढीले पहिलो जित दर्ता गरेको हो ।

टस जितेर पहिले व्याटिङको गरेको धनगढीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको थियो । उसका लागि राजु रिजालले ३७, लोकेश बमले ३१, अभिषेक पालले २८, कप्तान नारायण जोशी १९ तथा वसन्त कार्कीले १६ रनको योगदान गरे ।
बलिङतर्फ घोडाघोडीका लागि धर्म जोशीले ३, नरेन साउदले २ तथा कप्तान शेर मल्ल, सौर्य श्रेष्ठ र नर सार्कीले समान १ विकेट हात पारे ।
१ सय ५० रनको विजयी लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको घोडाघोडीले राम्रो प्रदर्शन गर्न सकेन । धनगढीको बलरसामु घोडाघोडीका ब्याट्सम्यान निरिह बने । १६.५ ओभरमा सबै विकेट गुमाएर जम्मा ८० रन मात्रै बनाउन सक्यो । उसका लागि टेक रावतले १८ र दीपक टमट्टाले १३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।
घोडाघोडीलाई सस्तैमा समेट्न धनगढीका ललित राजवंशीले कसिलो बलिङ गरे । ३.५ ओभर बलिङ गरेका राजवंशीले मात्रै ८ रन खर्चेर ३ विकेट हात पारे । यस्तै राहुल भण्डारी र मिलन बोहराले समान २ तथा नारायण जोशी र भोजराज भट्टले समान १ विकेट हात पार्न सफल रहे ।
कसिलो बलिङ गरेका राजवंशी प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे ।

धनगढी आफ्नो पहिलो खेलमा फेण्ड्स क्लब डडेल्धुरासँग ८ विकेटले पराजित भएको थियो, भने घोडाघोडीले प्रतियोगितामा आफ्नो पहिलो खेलेको हो ।

आज नै भएको पहिलो खेलमा सीवाईसी अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गरेको थियो ।

