कञ्चनपुरको महेन्द्रनगरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगर सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका-१८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको बताए ।
घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुुर मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए ।
कलौनीको शरीरमा बाहिर देखिने चोटपटक नदेखिएपनि घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । अहिलेसम्म प्रहरीले शवलाई छोएको छैन । तालिमप्राप्त कुुकुरको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको भनाई छ ।



