क्रिकेटको शहर भनेर चिनिने कैलालीको धनगढीमा शनिबार(आज)देखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुरु हुँदैछ । गो ड्रिमर्सको आयोजनामा हुन लागेको प्रतियोगिता धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएकोे प्रतियोगिताको उद्घाटन खेलमा आज धनगढी र डडेल्धुरा भिड्ने भएका छन् । डिसिए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा बीचको खेल आज दिउँसो सवा १२ बजे सुरु हुने समय तालिका रहेको छ । उद्घाटन खेलमा नै महाभिडन्त हुने भएको छ । धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य तथा स्पिनर ललिल राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठ लगायतका खेलाडीहरु मैदान उत्रिने छन्, भने डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य तथा ओपनर व्याट्सम्यान कुशल भुर्तेल, सन्दीप जोरा, विकेटकिपर विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले रहेका छन् ।
समूह ‘ए’ मा रहेका दुबै टोली जित हात पार्दै प्रतियोगिताको सुरुवात गर्ने पक्षमा रहेका छन् । प्रतियोगितामा देशभरका ८ वटा टोलीको सहभागीता रहेको छ । दुई समूहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समूह ‘ए’ मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् । यस्तै समूह ‘बी’ मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यू होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
नेपाली क्रिकेट टोलीका खेलाडीहरु विभिन्न क्लबबाट भिड्दै
अर्जुन ट्रफीमा नेपालीरा राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु विभिन्न क्लबबाट खेल्दैछन् । धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललिल राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठ लगायतका विभिन्न उमेर समूहका खेलाडीहरु खेल्दैछन् । डडेल्धुराबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्दैछन् ।
त्यस्तै अत्तरियाबाट भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खान, दिपेश कँडेल, सन्तोष कार्की लगायतका खेलाडीको सहभागिता रहेको छ बुटबलबाट कुशल मल्ल, दिलिप नाथ, तुलवहादुर थापा, दिपक डुम्रे, प्रतिक श्रेष्ठ लगायतका खेलाडीले प्रतियोगिता खेलिरहेका छन् । काठमाडौंबाट नन्दन यादव, दिपेन्द्र रावत, सुर्य तामाङ, युनिस विक्रम सिंह, अर्जुन घर्ती र सोनु अन्सारीले आफ्नो प्रदर्शन देखाउने छन् ।
त्यसै गरी बैतडीबाट भुवन कार्की, अमर सिंह रौटेला, खड्क बोहरा, दिपक बोहरा, बसन्त खत्री लगायतका खेलाडी रहँदा घोडाघोडी ११ बाट शेर मल्ल, नरेन साउँद, आयुव चन्द, विपिन विक्रम शाही लगायतका खेलाडीहरु आफ्नो क्षमता देखाउने छन् । झापाबाट पवन कार्की, रमेश भट्ट लगायतका विभिन्न उमेर समूहका अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरुको सहभागीताले प्रतियोगिताको रौनकता बढाएको छ ।

प्रतियोगिताले आगामी दिनमा उदयमान भविष्यका ताराहरु उदाउने अपेक्षा पनि आयोजकले लिएको छ । प्रतियोगितामा सहभागी टोलीमा ‘ए’ क्याटोगोरीका चार जना, ‘बी’ क्याटोगोरीका पाँच जना र बाँकी ‘सी’ क्याटोगोरीका गरी १४ खेलाडी समावेश गरिएका छन् ।

‘ए’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टोलीका खेलाडी रहेका छन् भने ‘बी’ क्याटोगोरीमा नेपाली राष्ट्रिय टोली ए, यू-१९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । ‘सी’ क्याटोगोरीमा यू-१६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यू-१९ र यू-१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।

