सेती कर्णाली र भेरीको सङ्गम स्थल त्रिवेणी धामको पहिचानका लागी कैलालीको मोहन्या गाउँपालिका–७ चिप्लेमा त्रिवेणी महोत्सव सञ्चालन भइरहेको छ । महोत्सव स्थलमा छ मोटर बोट, जुन महोत्सवकै आकर्षण बनेको छ । किनमेल र गीत सङ्गीतमा झुम्न मात्रै होइन कर्णाली नदीमा मोटर बोटको अनुभव लिन पनि मानिसहरू त्यहाँ पुग्ने गरेका छन् ।

“महोत्सव पनि हेरौँ अनि मोटर बोट पनि चढौँ भनेर आएका हौ । ८/१० जना साथीहरू छौ । यसको अनुभव लिऔँ भनेर चढ्दै छौ ।” लाइफ ज्याकेट लगाउँदै गरेकी सुर्खेतको पञ्चपुरी नगरपालिकाकी पुनम मगरले भनिन् । पुनम जस्तै अन्य धेरै जना मोटर बोटकै अनुभव लिन चिप्ले पुगेको बत्ताउँछन् । “टिकट काटेर फेरी बाहिर आउन पाइँदैन । बाहिर आयो भने फेरी भित्र जान पाइँदैन । त्यसैले पहिला मोटर बोट चढौँ अनि महोत्सव भित्र जाउला भनेर बिहानै आएका हौ ।” मोटर बोट चढ्न पालो कुर्दै गरेका चौकुने गाउँपालिका सुर्खेतका अजय माझीले भने ।
चिप्लेमा पहिलो पटक र त्यसैमा सस्तो शुल्कमा मोटर बोट चढ्न पाइने भएकाले धेरै जना आकर्षित भएको हुन सक्ने महोत्सव मूल आयोजक समितिका संयोजक वीरेन्द्र बहादुर रावलले बताए । टिकट लिएर महोत्सव भित्र प्रवेश गरेका दर्शकहरूले पनि सहजै मोटर बोट चढ्न सक्ने गरी व्यवस्थापनमा लागेको पनि उनको भनाई छ । त्रिवेणी धाममा धार्मिक पर्यटन तथा कर्णाली नदीमा जलयात्राको सम्भावना भएकाले यसतर्फ पनि सरकारको ध्यान जान आवश्यक रहेको उनले बताए ।
महोत्सवको आकर्षण र सुल्क समेत सस्तो भएकाले पनि दर्शकहरू यसतर्फ आकर्षित भएको हुन सक्ने मोटर बोट सञ्चालक पवन रावलको ठहर छ । “हामीले चिसापानी पुलमा प्रतिव्यक्ति ५ सय, ८ सय र हजार गरी विभिन्न प्याकेजमा मोटर बोट चलाउँछौ तर यता मात्र दुई सयमा सञ्चालन गर्दै छौ । भित्रिबण्डलका मानिसहरूले मोटर बोटको अनुभव लगुन् र महोत्सवमा पनि आउन भनेर सस्तो प्याकेजमा चलाएका छौ ।” मोटर बोट सञ्चालक रावलले भने । उनका अनुसार मोटर बोटको आनन्द लिन कैलाली सँगै सुर्खेत र डोटी सम्मका मानिसहरू पुग्ने गरेका छन् ।



