कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको सोमबार नगर प्रमुख खडक बहादुर रावत र उप–प्रमुख गुलिया कुमारी चौधरीले रिबन काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले सेवा प्रवाहमा भवन निर्माणले महत्त्वपूर्ण टेवा पुग्ने बताए । सुविधा सम्पन्न भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै नगर प्रमुख रावतले अब भवन निर्माणसँगै सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे । पालिकाले भौतिक पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरिरहेको नगर प्रमुख रावतले बताए ।
कार्यक्रममा उप–प्रमुख गुलिया कुमारी चौधरीले अब भने नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले अब सहज रूपमा सेवा प्राप्त गर्ने बताइन् । उनले यस अघि साँघुरो भवनबाट सेवा प्रवाह गरिरहनु परेकोले सेवा प्रवाह समेत चुस्त हुन नसकेको अवस्थामा भवन निर्माण भएसँगै कर्मचारी र सेवाग्राहीलाई सहज हुनेमा विश्वास व्यक्त गरिन् ।
त्यस्तै कार्यक्रमका सभा अध्यक्ष तथा वडा नम्बर ३ का वडा कृष्ण प्रसाद गौतमले सबैको साथ र सहयोगमा वडाका हरेक कार्यहरू तीव्र रूपमा अगाडि बढिरहेको बताए । वडाको नवनिर्मित भवन बनिसकेपछि यस भवनको कार्यालयबाट काम गर्न पहिले भन्दा धेरै सहज हुने उनले बताए । नगरपालिको १ करोड रुपियाँको लागतमा वडा कार्यालय भवन निर्माण गरिएको थियो । वडा कार्यालय भवन मेल्टा कन्स्ट्रक्सन एण्ड सप्लायर्स निर्माण कम्पनीले गरेको थियो ।
समयमै भवन निमार्ण गरिएको भन्दै वडा कार्यालयले निर्माण कम्पनीलाई कार्यक्रममा सम्मान समेत गरेको थियो । त्यस्तै वडा कार्यालय भवन निमार्णका लागी जग्गा उपलब्ध गराउने पूर्व साविक गाविस अध्यक्ष स्व. दीपक मल्लको परिवारलाई दोसल्ला सहित सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । वडा सदस्य तथा कार्यपालिका सदस्य विष्णा चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी हेमाकान्त सुबेदीले गरेका थिए ।



