दार्चुलास्थित महाकाली राजमार्ग पहिरो कारण तीन दिनदेखि अवरुद्ध भएको छ । जिल्लाको महाकाली नगरपालिका–५, किम्तडी ठन्याकाठामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

सडक निर्माणका क्रममा पहिरो खस्दा महाकाली राजमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । किम्तडी भिरमा खसेको पहिरो पन्छाउन नसक्दा तीन दिनदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरोले विद्युत लाइनमा समेत क्षति पुगेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले धनगढी, महेन्द्रनगरबाट जाने सवारी चार किलोमिटर तल रोक्नु परेको बताए । ‘खलङ्गा भन्दा चार किलोमिटर तल सडक अवरुद्ध भएको छ,’ उनले भने, ‘धनगढी, महेन्द्रनगरबाट आउने गाडीहरू त्यहीबाट फर्किनु परेको छ ।’
निर्माण क्षेत्रमाथिबाट पहिरो खस्दा शुक्रवार एक्साभेटर सडकबाट २०/२५ मिटर तल महाकाली किनारमा खसेको थियो । एक्साभेटर अपरेटर जाजरकोटको जुनीचाँदे गाउँपालिका–११ का रेसम बुढा घाइते भएका थिए । उनको हेलिकोप्टरमार्फत उद्धार गरेर धनगढी लगिएकामा धनगढीबाट समेत कोहलपुर रेफर गरिएको छ ।
अवरुद्ध सडक खुलाउन शनिवारदेखि महाकाली नगरपालिकाको एक्साभेटर प्रयोग गरिए पनि माथिबाट पहिरो खसिरहेकाले काम गर्न समस्या भएको हो । अवरुद्ध सडक खुलाउन अझै एक/दुई दिन लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ ।
सडक अवरुद्ध भएपछि दार्चुलाका विभिन्न स्थानका साथै दार्चुलाबाट कैलाली, कञ्चनपुर, काठमाडौँका लागि छुट्ने र जिल्ला सदरमुकाम खलङ्गासम्म जाने यातायातका साधन र यात्रुलाई समस्या भएको छ । खलङ्गाबाट किम्तडीसम्म पैदल हिँडेर यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । सशस्त्र प्रहरी दार्चुलाको टोलीले किम्तडी भिरमा शनिवार पैदलमार्ग निर्माण गरेको छ ।
पहिरोमा परी महाकाली नदी किनारमा खसेको एक्साभेटर पनि निकाल्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताएका छन् । पुस १५ गते पनि क्षेत्रमा सडक निर्माणकै क्रममा पहिरो खस्दा एक हप्तासम्म सडक अवरुद्ध थियो ।



