बाजुरा : बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा पहिरोले पाँच परिवार विस्थापित भएका छन् ।
भिरालो जमिन भासिँदै पहिरो बग्न थालेपछि अधिकांश बस्ती जोखिममा परेका छन् । वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन् । दश घर अझै जोखिममा रहेका छन् । गौमुल–२ का वडाध्यक्ष देवबहादुर रोकायाका अनुसार गाउँमाथि र तलबाट पहिरो बग्न थालेपछि पाँच परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको हो ।
उनीहरुलाई सहयोग उपलब्ध गराउन गाउँपालिकाले पहल गरिरहेको छ । पहिरोले रनेडाका स्थानीय सालिभान रोकाया, महेन्द्र रोकाया, साउने रोकाया, सगुने रोकाया र देबे सार्कीको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्र सिं कार्कीले जानकारी दिए । विस्थापित परिवार सुरक्षित स्थानमा त्रिपाल टाँगेर बसेका छन् ।
सोही बस्तीको तल र माथिबाट आएको पहिरोले १० परिवार जोखिममा छन्। उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गन समन्वय भइरहेको गौमुल गाउँपालिकाले जनाएको छ।


