नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको हिजोदेखि स्थगित भएको मतगणना सुचारु गर्न नेताहरु छलफलमा जुटेका छन् ।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा लगायतका नेताहरु मतगणना सुचारु गर्न छलफलमा जुटेका हुन् ।
अखिल क्रान्तिकारीको निर्वाचन समिति अन्तर्गत उपत्यका विशेष प्रदेश समितिका निर्वाचन अधिकृत प्रा.डा.जगत पोखरेलले माथिल्लो तहमा राजनीतिक सहमति जुटेपछि आफूहरुले मतगणना सुचारु गर्ने जानकारी दिए ।
‘उहाँहरु माथिल्लो स्तरमै छलफल गरिरहनु भएको छ,’ उनले भने, ‘सहमति भएको भए गणना गर्ने भनेर हामीले सूचना निकालेका थियौँ तर संगठनको आन्तरिक कुरा भएको हुनाले मिलाएर अगाडि लैजाने भन्ने कुरा भएको छ। कुरा मिलेको छैन् । मिल्ने बित्तिकै हामी गणना सुरु गर्छौं।’
विश्वविद्यालय र विशेष प्रदेश समितिमा खसेको मतपत्रको विषयमा विवाद भएपछि आइतबार बिहानदेखि रोकिएको मतगणना सुचारु नभई स्थगित गरिएको थियो ।
काठमाडौँको बाल्मीकि विद्यापीठमा मतदान भएको दुईवटा प्रदेशको मतपत्रमा रातो मसी र निलो मसी प्रयाेग भएको पाइएपछि मतगणनामा बसेका प्रतिनिधिले विरोध गरेका थिए।

विशेषगरी अध्यक्षका उम्मेदवारहरू उपदेश यादव र हेमन्त राईले फरक-फरक मसी प्रयोग भएको मतपत्र स्वीकार गर्न नसक्ने अडान राखेपछि मतगणना स्थगित भएको थियो।

अन्य प्रदेशमा मत गणना भइसकेको भए पनि ५ सय २२ मत रहेको यी दुई प्रदेशमा विवादका कारण मतगणना नहुँदा अखिल क्रान्तिकारीको नेतृत्वका लागि शनिबार भएको मतदानको अन्तिम परिणाम आउन सकेको छैन् ।

