
कैलालीमा पछिल्लो समय सवारी यात्रा असुरक्षित बन्न थालेको छ । हिजोमात्र सवारी दुर्घटनामा परि तीन महिलासहित ९ जना घाइते भएका छन् ।


जिल्लाको धनगढी उपमहानगरपालिका-३ बोराडाँडी चोक नजिकै स्कारपियो र पिकअप बोलेरो जिप बाटो क्रस गर्ने समयमा एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । स्कारपियोमा सवार गोदावरी नगरपालिका-५ की ४१ वर्षीया एक महिला घाइते भइन् । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै धनगढी उपमहानगरपालिका-१ खुलामञ्च नजिकै जेसीबीले स्कुटीलाई ठक्कर दिँदा स्कुटी पछाडि सवार धनगढी-१ कै १७ वर्षीय एक किशोर घाइते भए । उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ । उता गोदावरी नगरपालिका-४ स्थित भीमदत्त राजमार्ग अत्तरियाबाट गोदावरीतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानका २ महिला घाइते भएका थिए । घाइते दुबै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लामा सवारी दुर्घटनामा एक युवकको मृत्यु नै भएको छ । शुक्रबार राति मोहनापुल-अत्तरिया ६ लेन सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका-५ जाईका २८ वर्षीय सञ्जय चौधरीको मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रबहादुर बोहराका अनुसार अत्तरियास्थित विद्युत कार्यालय नजिकै चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ९९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

चौधरीलाई तत्काल उद्धार गरेर सेती प्रादेशिक अस्पताल पुर्याइए पनि चेकजाँचका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । ६ लेन सडक खण्ड अन्तर्गत धनगढीको चटकपुरमा शुक्रबार राति नै दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भए ।

धनगढी-३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएको डीएसपी बोहराले बताए । धनगढी-३ का सुदूरपश्चिम प्रदेश ०१००८ प ८८०५ नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय उमेश चन्द र से ७ प ५७४१ नम्बरको मोटरसाइकलका चालक अछाम साँफेबगर नगरपालिका-१४ का १९ वर्षीय कैलाश साउद घाइते भएका छन् ।

साउदकै मोटरसाइकल पछाडि सवार डोटीको दिपायल-सिलगढी नगरपालिका-१ का २२ वर्षीय खगेन्द्र खड्का र धनगढी-९ का २७ वर्षीय बिरेन्द्र बोहरा पनि घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घाइते चालकसहित चारै जनाले मादक पदार्थ सेवन गरेको पाइएको छ । उनीहरूको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, चुरे गाउँपालिका-३ मा पर्ने भासुमा जिप र विद्युतीय गाडी ठोक्किँदा थप एक जना घाइते भएका छन् । डोटीको जोरायलबाट धनगढीतर्फ आउँदै गरेको म १ च ४०७ नम्बरको जिप र धनगढीबाट डडेल्धुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४ ००१ ज ००३४ नम्बरको विद्युतीय हाइस एकआपसमा ठोक्किँदा हाइसमा सवारी चुरे गाउँपालिका-१ का २१ वर्षीय राकेश विक घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते विकको पदमा अस्पताल अत्तरियामा उपचार जारी छ । जिप चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का ३२ वर्षीय सुप्रिम राना र हाइस चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ का २५ वर्षीय दशरथ भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।