
मधेस केन्द्रित राजनीतिक दलहरूको मोर्चा गठन गर्ने प्रयासस्वरूप गठित कार्यदलको पहिलो बैठक भोलि मंगलबार बस्ने भएको छ ।

भोलि बिहान ११ बजे धुम्बाराहीस्थित समर्पण एकेडेमीमा बस्ने तय भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले सञ्चार माध्यमलाई बताए ।
बैठकमा मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डाबारे छलफल गर्ने तय भएको बताएको छ । सरकारले संविधान संशोधनको एजेण्डा अघि सारेपछि मधेस केन्द्रित दलहरुले मुद्दाहरूमा एकजुट भई राजनीतिक शक्ति निर्माण गर्ने प्रयास गर्दै सबै दलहरुले वार्ताका लागि कार्यदल गठन गरेका छन् ।
भोलिको बैठकमा जनता समाजवादी पार्टीबाट रेणु यादव र इस्तियाक राई, जनता समाजवादी पार्टी नेपालबाट राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट जीतेन्द्र सोनल र सुरेन्द्र झा, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, जनमत पार्टीबाट अब्दुल खान र शरद यादव, जनप्रगतिशील पार्टीबाट शिवजी यादव र तराई–मधेस लोकतान्त्रिक पार्टीबाट वृषेशचन्द लाल सहभागी हुने बताएको छ ।
