कैलालीको धनगढी उपमहानगरपालिका मेयर हमालले आइतबार बिहान आफ्नो फेसबुक अकाउन्टमा स्ट्याटस लेखे । उनले स्ट्याटस सहित फेसबुकमा हालेको फोटोले मोटरसाइकल दुर्घटना भएको स्पष्ट बताउँछ । दुर्घटनाको विवरण र अवस्था थाहा नभए पनि मोटरसाइकलको भाइजर र नम्बर प्लेट टुक्र–टुक्रा भएको फोटोले दुर्घटनालाई पुष्टि गरेको छ । फोटोलाई आधार मान्ने हो भने चालकलाई पनि निकै गहिरो चोट लागेको अनुमान गर्न सकिन्छ ।

तर मेयर हमालको फेसबुक अकाउन्टमा पोस्ट भएको स्ट्याटसमा मानिसको ज्यान भन्दा पनि ट्रीगार्डको चिन्ता बढी देखिएको छ । “धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मेन रोडको मिडियममा लगाएको ट्रिगार्डलाई भाँचेर सु.प. ७८४१ नम्बरको मोटरसाइकल भागेकाले चिन्नु हुने महानुभावले ०९१–५९०६९० मा जानकारी गराइदिनु हुन अनुरोध गर्दछु ।” स्ट्याटसमा लेखिएको छ । दुर्घटनामा परेको मोटरसाइकल फेला परे ट्रिगार्डको क्षतिपूर्ति भराउने मनसाय मेयर हमालको स्ट्याटसमा देखिन्छ ।
जनताको ज्यान भन्दा ट्रिगार्डको चिन्ता बढी भएको आभास दिलाउने उनको स्ट्याटसले उनका शुभचिन्तक समेत अचम्मित छन् । उनीहरूले अभिभावकका हैसियतले दुर्घटनाको कारण र अवस्था बुझ्ने भन्दा पनि सस्तो लोकप्रियता बटुल्न कामको प्रचारबाजी गर्ने भन्दै कमेन्टमा आलोचना गरेका छन् । कतिपयले बिरुवा भन्दा आफ्ना जनताको बढी चिन्ता गर्न सुझाव दिएका छन् । कतिपयले प्रचारबाजी नगरी यातायात कार्यालय गएर पत्ता लगाउन सुझाएका छन् भने कतिपयले के मानवता हराएकै हो ? भनेर प्रश्न समेत गरेका छन् ।



