
कैलालीको घोडाघोडी जेसीसले शनिबार आफ्नो तेस्रो पद हस्तान्तर तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । घोडाघोडी नगरपालिका–१ मा रहेको होटल वाशिष्ठको सभा हलमा भएको कार्यक्रमले घोडाघोडी जेसीस वर्ष २०२५ को पद हस्तान्तरण गरेको हो ।

युवाहरुमा विभिन्न किसिमका नेतृत्व तथा व्यक्तित्व विकासमा सघाउ पुर्याउने यस संस्थाले ४० वर्ष उमेर समूहभित्रका युवाहरुलाई समेट्ने गरेको छ । युवाहरुमा नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ घोेडाघोडीमा २०२१ सालमा जेसीसको स्थापना गरिएको थियो । तेस्रो पद हस्तान्तरण गर्दासम्म यसले करिव ३३ जनालाई आफ्नो सदस्य बनाई सकेको छ ।
वर्ष २०२४ को नेतृत्वको विदाई गर्दै निवर्तमान नेतृत्वले आज वर्ष २०२५ को नेतृत्वलाई पद हस्तान्तरण गरेको हो । वर्ष २०२४ का अध्यक्ष दीपक बहादुर चन्दले वर्ष २०२५ का अध्यक्ष लक्ष्मण न्युरेलाई पद हस्तान्तरण गरेका हुन् । पदभार ग्रहण पश्चात अध्यक्ष न्युरेले कार्यकारी उपाध्यक्ष पदम सापकोटा उपाध्यक्ष खेम ढुङ्गाना, सुरेश बोगटी, राम बहादुर चन्द र महेन्द्र विष्ट महासचिव धन बहादुर बडुवाल, कोषाध्यक्ष कलकजङ्ग सिंह कानुनी सल्लाहकार जानकी शाहलाई शपथ खुवाएका थिए । पदभार ग्रहणपछि सबैले घोडाघोडी जेसीसको नियमानुसार आफूहरु कर्तव्यनिष्ट भएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए ।
एक कार्यकाल बाहेक दोस्रो पटक पदमा बस्न नमिल्ने जेसीसको नियमलाई आत्मसात् गर्दै खुसियाली पूर्वक पद हस्तान्तरण गरिएको थियो । घोडाघोडी जेसीस वर्ष २०२५ का लागि गत शनिबार लक्ष्मण न्युरेको नेतृत्वमा नयाँ टोली सर्वसम्मत निर्वाचित भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै घोडाघोडी नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि खडक बहादुर रावतले पनि आफूले जेसीसलाई हर बखत सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा नगर प्रमुख रावत सहित विभिन्न जेसीस छिमेकी शाखाका प्रमुख, अन्य संघ संस्थाका प्रमुख, घोडाघोडी जेसीसका निवर्तमान पदाधिकारी, वर्तमान पदाधिकारी, शिक्षक लगायतका अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।