राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज (बुधबार) पनि काठमाण्डौ जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहे र्दैमा राखिएको थियो ।

सोमबार अदालतमा जाहेरवाला र सरकारी वकिलको बहस सकिएको थियो । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने बहस हुन पाएन । मंगलबार सार्वजनिक बिदा भएकाले बहस हुन सकेन । यसर्थ सोमबारको बहसलाई आज निरन्तरता दिन लागिएको हो ।
प्रतिवादी तर्फका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । सोमबार पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई न्यायिक हिरासतमा फर्काइएको थियो ।
जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो । उनलाई आइतबार पनि काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।
स्वर्णलक्ष्मी सहकारीको रकम सङ्गठित तवरले ठगी गरेको अभियोगमा लामिछानेविरुद्ध मुद्दा दायर भएको छ ।



