
सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयनको पाटो कमजोर देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ३ अर्ब ४४ करोड बजेट मात्र कार्यान्वयन गर्न सकेको पाइएको छ ।

चालु आर्थिक वर्षका लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट विनियोजन गरिएकोमा ३ अर्ब ४४ करोड ३८ लाख ६४ हजार रुपैयाँ मात्र खर्च भएको छ । यो कुल बजेट विनियोजनको १० प्रतिशत मात्रै खर्च भएको छ ।
बजेट कार्यान्वयनको पाटो कमजोर हुँदा विकासको पछौटेपन कायमै देखिन पुगेको छ । प्रदेश सरकारको पुँजीगत बजेट कार्यान्वयनको अवस्था झनै कमजोर देखिएको हो । पाँच महिनाको अवधिमा १ अर्ब ३२ करोड ३६ लाख मात्रै पुँजीगत बजेट खर्च भएको पाइएको छ ।
चालु आर्थिक वर्षका लागि कुल १८ अर्ब ७६ करोड २४ लाख २३ हजार पुँजीगत बजेट विनियोजन गरिएकोमा अहिलेसम्म ७ प्रतिशत मात्र प्रगति देखिएको छ । चालुतर्फको बजेट १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार रहेकामा मंसिर मसान्तसम्म २ अर्ब १२ करोड २ लाख ४४ हजार मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकको अवधिमा पुँजीतर्फ कूल बजेटको साढे तीन प्रतिशत, आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा कूल विनियोजित बजेटको साढे ६ प्रतिशत, आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिकमा झण्डै पाँच प्रतिशत र चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल विनियोजित पुँजीगत बजेटको ७ प्रतिशत खर्च भएको तथ्याङ्क छ ।

चालु आर्थिक वर्षका लागि सबैभन्दा बढी पुँजीगत बजेट भएको मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय हो । सो मन्त्रालयमा १४ अर्ब १० करोड ६७ लाख ५२ हजार पुँजीगत बजेट छ । मंसिर मसान्तसम्म १ अर्ब २३ करोड १९ लाख ४० हजार खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।