
बैतडीमा किशोरी बेपत्ता भएको एक महिना पुग्नै लाग्दा पनि प्रहरीले पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय बैतडी असफल देखिएको छ ।


जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १७ वर्षीया किशोरी बेपत्ता प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले समेत अनुसन्धान सुरु गरेको छ । घटनाको थप अनुसन्धान गर्न सिआइबीको टोली बैतडीमा खटिएको छ ।
कार्तिक १३ गते जिल्ला अदालत बैतडीले किशोरी बेपत्ता प्रकरणका आरोपित प्रहरी हवल्दार कृष्णराज जोशीलाई पूर्पक्षका लागि कारागार चलान गरेको थियो । त्यसपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए । ‘जिल्ला प्रहरी कार्यालयबाट किशोरी बेपत्ताको विषयमा निरन्तर रुपमा अनुसन्धान भइरहेको छ । तर अहिलेसम्म अवस्था अज्ञात नै छ,’ उनले भने, ‘सिआइबीले यस घटनाको छुट्टै अनुसन्धान गरिरहेको छ भने हामीले पनि घटनाको विषयमा सुक्ष्म रुपमा अनुसन्धान गरिनै रहेका छौँ ।’

असोज २५ गते किशोरी बेपत्ता भएकी थिइन् । सोही दिन पञ्चेश्वर गाउँपालिका–२ महाकाली प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार जोशीलाई महाकाली नदी पारीको भारतीय भूमिबाट स्थानीयले नियन्त्रणमा लिएका थिए । प्रहरी चौकी डिम्बर गाउँमै छ । किशोरी र हवल्दार जोशीबिच कुनै न कुनै सम्बन्ध रहेको पुष्टि भइसकेको छ ।

प्रहरी अनुसन्धानबाट पनि २५ गतेसम्म किशोरीसँग भेट भएको खुलेको छ । प्रहरी नायव उपरीक्षक मिश्रले असोज २५ गतेसम्म किशोरी र प्रहरी हवल्दार जोशीको भेट भएको अनुसन्धानबाट खुलेको बताए । तर, किशोरीको अवस्था भने अझै अज्ञात नै रहेको छ । अहिले सिआइबी र जिल्लाको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


